२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.३४ प्रतिशत, कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ७१ अर्ब

सोमवार , जेठ १३, २०८२

विराटनगर । कोशी प्रदेशको आर्थिक बर्ष २०८१/०८२ को प्रादेशिक कुल ग्रार्हस्थ्य उत्पादन अनुमानको तथ्यांक सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि तथ्यांक सार्वजनिक गरेको हो ।

नेपालका सात प्रदेशहरुका कुल ग्रार्हस्थ्य उत्पादनको आधारमा कोशी प्रदेश दोस्रोमा रहेको छ ।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ्य उत्पादन अनुमानमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा चालु आर्थिक बर्ष २०८१/०८२ का लागि करिब ९ खर्ब ७१ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक बर्ष २०८०/०८१ मा करिब ९ खर्ब ९ अर्ब संशोधित अनुमान गरिएको छ ।

No description available.

चालु आर्थिक बर्षमा कोशी प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक बर्षमा २०८०/०८१ मा पनि कोशी प्रदेशले १५.९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान गरिएको छ ।

त्यसैगरी चालु आर्थिक बर्षमा कोशी प्रदेशको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.३४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक बर्षमा ३.३१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

चालु आर्थिक बर्षमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्य क्षेत्र (३४.०५ प्रतिशत) को रहने र सबैभन्दा न्यून योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्र (०.३२ प्रतिशत) को रहने प्रारम्भिक अनुमान रहेको छ ।

गत आर्थिक बर्षमा पनि कृषि क्षेत्र (३३.४५ प्रतिशत) को योगदान गरी अग्रस्थानमा हुने र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३२ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ ।

कोशी प्रदेशमा क्षेत्रगत रुपमा हेर्दा चालु आर्थिक बर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै विधुत तथा ग्याँस क्षेत्र (९.३६ प्रतिशत) र सबैभन्दा थोरै पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्र (०.८ प्रतिशत) को हुने प्रारम्भिक अनुमान छ ।

No description available.

त्यसैगरी गत आर्थिक बर्ष २०८०/०८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्र (२१.५० प्रतिशत) को र सबैभन्दा थोरै (–२.७७ प्रतिशत) उद्योग क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ ।

प्रदेशको आर्थिक बृद्धिदर केही क्षेत्रमा उल्लेखनीय देखिएतापनि प्रमुख उद्योग क्षेत्रको भने निराशाजनक देखिएको छ ।

कोशी प्रदेशको उद्योग क्षेत्रमा (–२.७७ प्रतिशत) को नकारात्मक वृद्धि दर देखिएको हो । कोशी प्रदेशका प्रमुख औद्योगिक केन्द्रहरू विराटनगर, इटहरी, धरान लगायत स्थानहरूमा स्थायी लगानीको अभाव, ऊर्जा आपूर्ति अस्थिरता र बजार मागमा आएको गिरावटले समग्र औद्योगिक वातावरण खस्किएको विज्ञहरू बताउँछन् ।

प्रादेशिक आर्थिक वृद्धिदर

आर्थिक बर्ष २०८१/०८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ता मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेश (५.५१ प्रतिशत) मा र त्यसपछिको धेरै वाग्मती प्रदेश (५.१८ प्रतिशत) मा देखिन्छ ।

त्यसैगरी सबैभन्दा थोरै वृद्धिदर सुदुरपश्चिम प्रदेश (३.३२ प्रतिशत) मा हुने अनुमान रहेको छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन बृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, वागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदर भन्दा थोरै हुने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक बर्ष २०७९/८० देखि आर्थिक बर्ष २०८१/०८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । यद्यपी, आर्थिक बर्ष २०८०/०८१ बाट आर्थिक बर्ष २०८१/०८२ मा कोशी प्रदेशको आर्थिक वृद्धिदर नगण्य रुपमा मात्र बढेको देखिएको छ ।

कोशी प्रदेशको आर्थिक बर्ष २०८१/०८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १४०१ यू.एस.डलर रहेको छ । कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषत भन्दा कम रहेको देखिएको छ । चालु आर्थिक बर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा १४९६ हुने प्रारम्भिक अनुमान छ ।

No description available.

कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक बर्ष २०७९/०८० मा १३०२ यू.एस डलर थियो भने आर्थिक बर्ष २०८०/०८१ मा यू.एस डलर १३५२ थियो ।

तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै कोशी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव शंकर नेपालले कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक क्षेत्र भएपनि उद्योग क्षेत्रमा जसरी आर्थिक वृद्धिदर हुनुपर्ने त्यो हुन नसकेको बताए । उनले मोरङ सुनसरी करिडोरमा उद्योग बढ्न नसकेको बताए ।

सचिव नेपालले प्रदेशमा छुट्टै तथ्यांक कार्यालय स्थापना गरेर काम गर्न सके प्रदेशको अवस्थामा थाहा हुने बताए । उनले भने, ‘प्रदेशमा आफ्नै संरचना भयो भने त्रैमासिक रुपमा तथ्यांक सार्वजनिक गर्न सक्यो भने प्रदेशको अवस्थाको बारेमा जानकारी हुनेछ । जसले गर्दा प्रादेशिक विकासमा सहयोग पुर्याउँछ’ । कोशी प्रदेश सरकारले आर्थिक सर्वेक्षक गर्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट