काठमाडौं । एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि नेपालले भारी अन्तरको जित हासिल गरेको छ ।
क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको अन्तरको जित निकालेको हो ।
नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।
इन्डोनेसियाका कविन नीरजले सर्वाधिक १५ बनाए । त्यस्तै, दिवित नन्दाले १४ रन बनाए । बलिङमा नेपालका बिपिनले ७.३ ओभरमा १२ रन दिएर ६ विकेट लिए भने शुभम खनाल र सुगम बुढाथोकीले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको विशाल योगफल बनाएको थियो । जारी प्रतियोगितामा यो सबैभन्दा उच्च योगफल हो ।
ओपनिङ ब्याटर प्रसिद्ध जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । रौनक श्रीवास्तवले ८८ रन बनाए । अर्का ओपनर परिमार्जन यादवले ७१ रन र जोय थापाले ५७ रन बनाए ।
इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए । त्यस्तै, काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १–१ विकेट लिए ।
नेपाल समूह ए मा छ । नेपालले हालसम्म खेलेका तीनै खेल जितेर ६ अंक जोड्दै अंकतालिकामा शीर्षस्थानमा छ ।
प्रतिक्रिया दिनुहोस