काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले वर्तमान सरकारले संविधानलाई पुनर्लेखन गर्ने दिशामा अघि बढ्न खोजेको आरोप लगाएकी छन्।
उनले संविधान संशोधन सम्भव भए पनि पुनर्लेखन गर्ने सोच लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताइन्।
नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले संविधान निर्माणका क्रममा सँगै संघर्ष गरेका प्रमुख तीन राजनीतिक दल एक ठाउँमा उभिएर संविधान संशोधनका विषयमा साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याइन्।
उनले संविधानका केही आधारभूत विषय, जस्तै समानुपातिक–समावेशी व्यवस्था, प्रदेश संरचना लगायतका सवालमा संशोधनबारे छलफल गर्न सकिने बताइन्।
तर परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने वा ओझेलमा पार्ने गरी संविधान संशोधन वा पुनर्लेखनको प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।
भुसालले संविधानलाई समयानुकूल परिमार्जन गर्न सकिने भए पनि यसको मूल मर्म र लोकतान्त्रिक उपलब्धिलाई जोगाउनु सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको धारणा राखिन्।
प्रतिक्रिया दिनुहोस