२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

संविधान संशोधनभन्दा संविधान जोगाउने आन्दोलनको आवश्यकता छ : टिकाराम भट्टराई

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । संविधानविद् टिकाराम भट्टराईले अहिलेको अवस्थामा संविधान संशोधनभन्दा पनि संविधानको रक्षा गर्न आन्दोलन आवश्यक भएको बताएका छन्।

नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान सरकार संविधान र संसद्प्रति जवाफदेही नभएको आरोप लगाए। उनले यही संविधान र यही संसद्को आधारमा सरकार गठन भए पनि सरकार संविधानको भावना र मर्मअनुसार सञ्चालन हुन नसकेको बताए।

भट्टराईले प्रधानमन्त्री संसद्मा उपस्थित हुनु सामान्य संवैधानिक दायित्व भए पनि नेपालमा प्रधानमन्त्री संसद्मा गएको विषय नै ठूलो समाचार बन्न थालेको टिप्पणी गरे। "प्रधानमन्त्री संसद्मा गएको कुरा अन्य मुलुकमा समाचार नै हुँदैन, तर नेपालमा त्यो नै मुख्य समाचार बन्न थालेको छ," उनले भने।

एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रसंग उल्लेख गर्दै भट्टराईले वर्तमान सरकारले उनलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको दाबी गरे। त्यसको पुष्टि अदालतले समेत गरिसकेको उनको भनाइ थियो।

उनले संसद्ले प्रधानमन्त्री खोजिरहेको तर प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसकेको भन्दै वर्तमान सरकार संवैधानिक बाटो र लोकतान्त्रिक अभ्यासबाट विचलित भएको आरोप लगाए।

भट्टराईले सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति दोहोर्‍याइरहेको बताए। विगतमा पनि अध्यादेशबाट शासन गर्ने अभ्यास रहेको र अहिले पनि त्यही प्रवृत्ति जारी रहेको उल्लेख गर्दै उनले संविधान संशोधन गर्दा अध्यादेशमार्फत देश चलाउने अभ्यासलाई सीमित वा अन्त्य गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

उनले वर्तमान सरकारले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको आरोप पनि लगाए। कर्मचारी संगठन र विद्यार्थी संगठन खारेज हुँदा समेत राजनीतिक दलहरू प्रभावकारी रूपमा बोल्न नसकेको उनको भनाइ थियो।

"अहिले शान्ति त देखिएको छ, तर त्यो जीवित समाजको शान्ति होइन, मुर्दा शान्तिजस्तै हो," भट्टराईले भने।

सरकारले गठन गरेको संविधान संशोधन कार्यदल नै अवैधानिक रहेको दाबी गर्दै उनले त्यस्तो कार्यदलमा राजनीतिक दलहरू सहभागी हुनु नहुने धारणा दोहोर्‍याए। आफूले सुरुदेखि नै यस्तो अडान राख्दै आएको र पछि आएर मात्र राजनीतिक दलहरूले पनि त्यसको गम्भीरता बुझेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट