काठमाडौं । फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबाार राति भएको अन्तिम १६ को खेलमा अमेरिकी क्लब इन्टर मियामीलाई ४–० ले हराउँदै पीएसजी अघिल्लो चरणमा प्रवेश गरेको हो ।
पीएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने अचरफ हाकिमीले १ गोल गर्दा एक गोल उपहार पाएको थियो । सबै गोल पहिलो हाफमै भएका थिए ।
छैटौं मिनेटमा नै नेभेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा नेभेसले नै गोल गर्दै अग्रता दोब्बर पारे भने ४४औं मिनेटमा मियामीका टोमस अविलेसबाट आत्मघाती गोल भयो ।
इन्जुरी समयमा हाकिमीले गोल गरेपछि पीएसजी ४–० ले अगाडि रह्यो । दोस्रो हाफमा मियामीले केही अवसरहरू सिर्जना गरेपनि फिनिसिङ हुन सकेन ।
यस्तै अर्को खेलमा इंग्लिस फरवार्ड ह्यारी केनको २ गोलको मद्दतमा जर्मन क्लब बार्यन म्युनिखले क्लब विश्वकपको अन्तिम १६ मा ब्राजिली क्लब फ्लामेंगोलाई ४–२ ले पराजित गरेको छ।
मियामीको हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआतदेखि नै आक्रामक देखिएको बार्यनले छैटौं मिनेटमा विपक्षी खेलाडी एरिक पुलगारको आत्मघाती गोलमार्फत अग्रता लियो। त्यसपछि नवौं मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर पारे।
फ्लामेंगोका लागि ३३औं मिनेटमा गेर्सनले गोल फर्काए। त्यसपछि ४१औं मिनेटमा लियोन गोरेट्ज्काले तेस्रो गोल गर्दै बार्यनलाई पहिलो हाफमै ३–१ ले अगाडि राखे ।
दोस्रो हाफको ५४औं मिनेटमा फ्लामेंगोका जोर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेलमा रोमाञ्च थप्ने प्रयास गरे । तर, ७३औं मिनेटमा पुनः केनले गोल गर्दै बार्यनको ४-२ को जित सुनिश्चित गरे।
प्रतिक्रिया दिनुहोस