काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छन् । अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताइन् ।
उनले भनिन्, “म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गएर त्यही शिक्षा लिएँ । तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो । आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ ।”
बेलायतमा हुर्किएकाले पनि अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिएता पनि काम गर्न सुरु गरेपछि निर्देशक, छायाँकार र कलाकारसँग सिक्ने अवसर पाएको मगरले बताइन् । पछिल्लो समय चलचित्रको छायांकनस्थलमा चलचित्र अध्ययन गरेका विद्यार्थीहरू विभिन्न विभागमा भेटिएता पनि अध्ययन र वास्तविक काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव रहेको अभिनेत्री मगरको बुझाइ छ ।
“अध्यन गरेर आउनुभएका अहिले छायांकन स्थलमा धेरै भेटिनुहुन्छ । तर, मगरहहरूको अध्ययनको सिकाइ र हामीले काम गर्ने शैली भिन्न हुँदा कतिपय अवस्थामा सहजता नभएको महसुस गरेकी छु । त्यसकारण शिक्षा लिइसकेपछि काम गर्नु अगाडि बुझ्ने मौका पाउनुपर्छ जस्तो मलाई लाग्छ”, अभिनेत्री मगरले भनिन् ।
चलचित्रका विभिन्न विधाको अध्ययन गरिरहेका विद्यार्थीले छायांकनस्थलमा पुगेर त्यसलाई प्रत्यक्ष हेरेर बुझ्ने वातारण बन्नुपर्नेमा अभिनेत्री मगरले जोड दिइन्। उनले आफूले पर्दामा निर्वाह गर्ने पात्रले एउटा वर्ग र समुदायलाई भिन्न रूपमा प्रस्तुत गरेको बताइन् ।
“मैले बेलायतमा बाँचेको भन्दा चलचित्रमा बाँचेको जीवन भिन्न छ । यद्यपि म प्रवासमा हुर्किएर शिक्षा लिएता पनि मैले चलचित्रमा निर्वाह गरेका पात्रले लिने निर्णय र उनीहरूको जस्तो विद्रोह गर्न सक्ने क्षमता छैन । सोही कारण पनि मेरा पात्र दर्शकको रोजाइमा परेको हुनसक्छ”, अभिनेत्री मगरले भनिन् ।
‘लालपूर्जा’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गर्नुभएकी अभिनेत्री मगरले अभिनय गरेकी ‘कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका चलचित्र नेपालमा व्यावसायिक रूपमा सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस