२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीज गीतमार्फत चेली जगाउँदै चन्द्रवती

बुधवार , श्रावण २१, २०८२

गण्डकी । हरेक तीजमा नयाँनयाँ तीज गीत लिएर आउने गीतकार चन्द्रावती वाग्लेको यस वर्ष ‘उठौँ चेली हो’ बजारमा आएको छ । सामाजिक यथार्थताका विविधतालाई गीतका माध्यमबाट प्रस्तुत गर्दै आएकी वाग्लेले यस वर्षको गीतमा महिला हकहितका लागि कानुन बनेपनि महिला हिंसाको क्रम नरोकिएको भन्दै नारी आ–आफ्ना स्थानबाट उठ्नुपर्नेमा जोड दिएकी छन् ।

पुरुष प्रधान समाजको अहिले पनि दबदबा कायमै रहेको उल्लेख गर्दै वाग्लेले गीतको सुरुमा नै भनेकी छन्,

“पुरुष प्रधान समाजको जाँतोमा ज्यान पेलियो ।

राखौँ हाम्रा कुरा पनि उठौँ चेली हो ।।”

देशमा महिलामैत्री कानुन बनेपनि, संविधानमा उल्लेख गरिए पनि महिला हिंसाको क्रम अझै नरोकिएको भन्दै वाग्लेले गीतमा भनेकी छन्,

“रोकिएन महिला हिंसा जति कानुन बनेनी ।

संविधानमा नारी पुरुष एकै भनेनी ।।

न त हिंसा रोकियो, न त दाइजो घटाइयो ।

न दुःखमा माइतीघर छोरी अटाइयो ।।”

त्यस्तै समाजमा बढ्दो बलात्कारजन्य घटनाको दर्दनाक अवस्थाको चित्रण गर्दै गीतमा वाग्लेले,

“प्रतिकार गरे जिउँदै जल्नु पर्छ नारीले ।

पैसासँग न्याय किन्छ बलत्कारीले ।।” उल्लेख गरेकी छन् ।

समाजमा नारीले न्यायसमेत नपाएको प्रशङ्ग उल्लेख गर्दै गीतमा भनिएको छ,

“हाँसी हाँसी स्वीकार्नुछ कठिन जिम्मेवारीलाई ।

दुख्दा ऐया भन्ने छुट छैन नारीलाई ।।

कि देउ न्याय कि भगवान् जन्मै नदेउ छोरीलाई ।

तिम्रो सृष्टि तिमी आँफैँ चलाउन बरिलै ।।”

यस्तै यथार्थता, पीडा, व्यथा र बेदनाले भरिएका विभिन्न १४ वटा टुक्कासहित ‘उठौँ चेली होे’ गीत सार्वजनिक भएको हो । यो गीतमा शब्द, स्वर, लय वाग्लेको आफ्नै रहेको छ । गीतमा इन्दु केसी, दामु चालिसे, टिकामाया चालिसे, शिव चालिसे, सूर्य जिसी, लक्ष्मी जिसीले अभिनय गरेका छन् ।

गीतको निर्देशन वसन्तप्रसाद चालिसेले गरेका छन् भने व्यवस्थापनमा नवराज वराल, दिपकराज अधिकारी र दिपेन्द्र कार्कीले सघाएका छन् । त्यस्तै गीतका लागि आर्थिक सहयोग न्यूरोड महिला उत्थान मञ्च पोखरा–८ ले गरेको छ भने छायाङ्कन वासुदेव पोखरेलले गरेका छन् । अन्य व्यवस्थापन, निर्माण, सम्पादनलगायत काम मूनाल चलचित्र प्रालिले गरेको छ ।

वाग्लेले यसअघि २०७५ मा ‘आइन छोरी’, २०७६ मा ‘नरोए आमा’, ‘जागिरे नारीको पीडा भाग–१’ र ‘गरिन गुनासो’, २०७७ मा ‘जागिरे नारीको पीडा भाग–२’, ‘सहरको सुविधा र म’, ‘दर्जा बेरोजगारको’, २०७८ मा ‘आउ सङ्गी रमाइलो गरौँ बरिलै’, २०७९ मा ‘रमाइलो माइतैमा’, ‘जडिया पोइ’ र ‘शून्य छ जन्मेको घर बरिलै’ गीत बजारमा ल्याएकी थिइन् ।

वाग्लेले २०८० मा ‘फेरि पनि आयो तीज मन दुखाउन’, ‘कृषि प्रधान मेरो देश, के छैन र हाम्रो नेपालमा’ ल्याउनुभएको थियो भने २०८१ मा ‘देश भक्ति तीज गीत’, ‘वालेन तीज गीत’ र ‘माइतीको झल्को’ ल्याएकी थिइन् ।

वाग्लेका ‘हरिश्चन्द्र शोक काव्य २०७५’, ‘पलपलका भावना’ कविता सङ्ग्रह २०८०, ‘अक्षरको आगो’ मुक्तक सङ्ग्रह २०८१, ‘जिन्दगीको बाटो मोडियो तीज गीत सङ्ग्रह २०८१’ जस्ता कृति प्रकाशित छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रूपमा सेवारत उनी कस्केली अधिकृत समाजको कार्यसमिति सदस्यसहित रही विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशिल छिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ