२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

धान पाकेपछि देउखुरीका किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त

बुधवार , आश्विन २९, २०८२

दाङ । लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी खेतमा धान काट्दै थिइन् । धान काट्दै गरेको अवस्थामा भेटीएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”

चौधरीले भनिन्, “देउखुरी क्षेत्रमा अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने र छिट्टै पाक्दा दसैँलगत्तै धान काट्न तथा काटेको धान सुकाएर दाइँ गर्न थालिसकेका छौँ ।”

दसैँअगाडि नै धान पाकेर पहेँलै भएकाले किसानले काट्न सुरु गरेका छन् । अहिले मौसम अनुकूल भएपछि भित्र्याउन सुरु गरेको उनीहरुको भनाइ छ । धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसान बताउँछन् । वर्षा भए पनि बाढी नआएकाले ठूलो नोक्सानी व्यहोर्नु नपरेको चौधरी बताउछन् ।

“अहिले त्यस्तै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ”, उनले भने ।

सीतामात्र होइन अहिले देउखुरी क्षेत्रका अधिकांश किसान बिहानैदेखि बेलुकासम्म धान काट्न तथा बाली भित्र्याउन व्यस्त देखिन्छन् । तिहारको समय नजिकै आइरहँदा किसानलाई धान काट्न चटारो छ । उनीहरूले काटेको धान चाँडै भित्र्याउनका लागि खेतसँगैका सडक किनारामा सुकाउन थालेका छन् ।

यतिखेर दाङको देउखुरी क्षेत्रमात्र नभई सिँचाइ सुविधा पुगेका जिल्लाका अन्य क्षेत्रमा पनि बिहानैदेखि बेलुकासम्म किसान खेतमा धान काट्न व्यस्त देखिन्छन् । कतै काटेको धान थ्रेसरबाट दाइँ गर्न लागेका देखिन्छन् । बिहानैदेखि खेतमा धान काट्न आउने गरेको र बेलुका मात्र घर फर्कने गरेको लमही नगरपालिका–३ का ६० वर्षीया सावित्रा भण्डारी बताउछिन् ।

उनी भन्छन्, “मौसम परिवर्तन भई पानी परेमा पाकेको धानमा क्षति हुन्छ । वर्षभरि खानपुग्ने खेती बिग्रिएमा कसरी परिवार पाल्ने भन्ने पिरलो लाग्छ । तिहारका लागि रोटी पकाउने, घर सरसफाइलगायतका सबै काम छाडेर सबै जना बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छौँ ।”

देउखुरीमा मात्र होइन, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा पनि धान पाकेर पहेँलै भएको छ । त्यहाँका किसानले पनि धान काट्न सुरु गरिसकेका छन् । दङ्गीशरण गाउँपालिका–३ रावत गाउँका माइली चौधरी बिहानैदेखि धान काट्न सुरु गरेको बताउछिन् । तीन बिघा जमिन भाडामा लिएर धानखेती गरेको बताउने उनी पानी पर्छ कि भन्ने डरले बिहानैदेखि बेलुकासम्म खेतमै हुने गरेको बताइन् ।

जिल्लामा ३७ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यहाँका किसानले यस वर्ष सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ लगायतका वर्णशङ्कर जातका धान लगाएका थिए । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धान लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ