काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको हो ।
कात्तिक महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर औसत ५.२० प्रतिशतमा झरेको छ । जबकी असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो ।
असोजको तुलनामा कात्तिकमा १५ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे एनआईसी एसिया, प्रभु, स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स छन् ।
५ बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा नेपाल, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ र कुमारी छन् । कुनै पनि वाणिज्य बैंकले ब्याजदर असोजको तुलनामा कात्तिकमा बढाएका छैनन्।

प्रतिक्रिया दिनुहोस