काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले सबै विकेटको क्षतिमा पूरा ओभर खेल्दै २ सय ३३३ रन जोड्न सफल भएको हो । खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।
दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले १२६ बलमा शतक पूरा गरेका थिए । खेलमा उनले १३० बलमा १०९ रन जोडे ।
त्यस्तै नेपालका लागि आशिफ शेखले ३५ , आरिफ शेखले २७, दिपेन्द्र सिंह ऐरेले २३ रनको योगदान गरे ।
जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन् । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् ।
एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र यूएईले हालसम्म १५ पटक एक दिवसीय खेल खेलेको छ । जसमा नेपाल नौ खेलमा विजयी भएको छभने बाँकी ६ खेल युएईले जितेको छ ।
लिग–२ को अङ्क तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अङ्कसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अङ्क जोडेर नेपाल सातौँ स्थानमा छ । समान खेल खेलेको युएई ६ अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
युएईविरुद्धको खेलको प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजबंशी छन् ।
प्रतिक्रिया दिनुहोस