काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ । लिग–२ को युएई सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै, मिलिन्द कुमारले ७० रनको योगदान दिए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्सन झाले एक–एक विकेट लिए ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ बनाएको थियो ।
जसमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । करण केसीले ३१ बलमा ४९ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका लागि हर्मीत सिंहले ३ विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए । जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।
सिरिजको आफ्नो चौथो खेलमा नेपालले बुधबार युएईविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस