काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन कतार प्रस्थान गरेका छन्।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी को निमन्त्रणामा सहभागी हुन कतार प्रस्थान गरेका हुन्। सम्मेलन कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुँदैछ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले बिदाई गरेका थिए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले पनि राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो।
सम्मेलनको मुख्य सत्रलाई राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस क्रममा उहाँले कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
विश्वभर विकासको असमानता, जनसङ्ख्यामा असन्तुलन र प्रविधिले समाजमा पारेको प्रभावजस्ता विषयमा यो सम्मेलनमा छलफल हुने आयोजकहरूले बताएका छन्। यसअघि यस्तै सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो।
नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसङ्घको सक्रिय सदस्य रहेको छ र हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष पनि नेपाल हो।
राष्ट्रपति पौडेल आफ्नो औपचारिक भ्रमण पूरा गरी कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रममा रहेका छन्।
प्रतिक्रिया दिनुहोस