नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बेच्नेबारे विचार गर्न थालेका छन्। अनुमान अनुसार आरसिबीको मूल्य करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने बताइएको छ।
आरसिबीको मालिक कम्पनी युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गरेको विवरणमा क्लबमा गरिएको लगानीको 'रणनीतिक समीक्षा' सुरु भएको उल्लेख गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले आरसिबीलाई 'मूल्यवान सम्पत्ति' भने पनि यो उनीहरूको मुख्य व्यवसायसँग प्रत्यक्ष रूपमा नजोडिएको कारण समीक्षा आवश्यक भएको बताए।
यो समीक्षा पुरुष तथा महिला दुवै टोलीका स्वामित्वसम्म फैलिने बताइएको छ। आगामी वर्ष मार्चसम्ममा यसको नतिजा आउने अपेक्षा गरिएको छ। सन् २००८ मा स्थापना भएको आरसिबीले यस वर्ष पहिलो पटक आईपीएलको उपाधि जितेको थियो। ब्लुमबर्गका अनुसार कम्पनी अहिले क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बेच्ने सम्भावनाबारे विचार गर्दैछ।
तर, जितको खुसीमा आरसिबीका प्रशंसकले भोग्नुपरेको दुःखद घटना पनि छ। विजय परेडका क्रममा ठेलमठेल हुँदा ११ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी र कप्तान विराट कोहलीले उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका थिए।
आरसिबी बिक्रीबारे हुने यो सम्भावित निर्णय भारतीय खेल इतिहासकै ठूलो व्यापारिक सम्झौता बन्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस