काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको भावना र अपेक्षा अनुसार काम गर्न तथा उनीहरूलाई न्यायको स्पष्ट अनुभूति दिलाउन गृह प्रशासनका सबै निकायलाई कडाइका साथ निर्देशन दिएका छन्।
आइतबार गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित बैठकमा मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै वर्तमान सरकारलाई 'निर्वाचन केन्द्रित सरकार' को रूपमा कार्य गर्नुपर्ने बताए।
उनका अनुसार, पुरानो संरचना मात्रमा अडिनुभन्दा आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत निर्वाचन प्रक्रियालाई अझ सहभागीमूलक बनाइ जनता सबैको मताधिकार सुनिश्चित गरिने वातावरण निर्माण गर्नु सबैको जिम्मेवारी हो।
मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयहरूमा जिम्मेवारी पूरा गर्ने शैलीलाई अझ प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई जनमुखी बनाउने निर्देशन दिए। उनले कर्मचारीहरू बढीभन्दा बढी जनसरोकारका विषयमा उपस्थित हुनुपर्छ, सेवाग्राही कहाँ–कहाँ समस्या छ त्यहीँ पुगेर काम गर्नु जरुरी छ, र नागरिकले परिवर्तनको अनुभूति पाउनुपर्ने बताए।
गृह मन्त्रालयमा गठन गरिएको जेनजी समन्वय समिति तथा पीडितको गुनासो सुन्ने व्यवस्थालाई सुदृढ बनाएर मात्रै बाहिर फैलन सक्ने भ्रम वा गलत धारणा हटाउन सकिने उनको भनाइ सचिवालयले उल्लेख गरेको छ।
साथै, मन्त्री अर्यालले घाइते राहतसम्बन्धी कार्यविधि छिट्टै अन्तिम रूप दिन तथा जेनजी घटनामा घाइते भएकाहरूलाई फिल्डमै राहत कार्ड वितरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिए।
त्यसैगरी, बैठकमा गृहसचिव रामेश्वर दंगाले मन्त्रालय तथा मातहतका कर्मचारीको हालसम्मको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए। उनले राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावली लगायत दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको जानकारी गराए।
सचिव दंगाले मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखेर काम गर्न विभागीय प्रमुखहरूलाई आग्रह गरे। भदौ २३ गतेपछि मन्त्रालयमा काम गर्ने शैलीमा ठूलो सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै उनले कर्मचारीहरूलाई यस परिवर्तनको निरन्तरता कायम राख्न निर्देशन दिए।
बैठकमा मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, महाशाखा र शाखाका प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रका प्रगति तथा अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस