काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारलाई सरकारी पदमा नियुक्ति गराएको आरोप लगाइँदै जेनजी युवा अगुवाहरु आज प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने तयारीमा छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बन्धी स्रोतका अनुसार सचिव–सरह सुविधा लिएका आदर्श श्रेष्ठले अपनी पत्नी संगीता श्रेष्ठलाई सहसचिव–सरहको स्वकीय सहसचिव र नातेदार कमला श्रेष्ठलाई स्वकीय सहसचिवमा नियुक्त गराएका छन्। दुवैजनाको नियुक्ति असोज २ गते गरिएको हो।
यस्तै नासु–सरहका प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठलाई पनि सोही दिन नियुक्त गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्की पदमा पुगेको एक साताभित्रै यी सबै नियुक्ति गरिएको बताइएको छ।
नातेदार र पारिवारिक सदस्यलाई पदपूर्ति गराएको समाचार सार्वजनिक भएपछि जेनजी युवाबर्गले स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न तथा सबै नियुक्ति खारेज गर्न माग गर्दै आएका छन्।
सुदन गुरुङ समूहले जेनजी आन्दोलनको माग र भावना विपरीत नाताबाद–कुटुम्बवादको चलनको कठोर आलोचना गर्दै सुशासनका अपेक्षा विपरीत कदम उठाइएको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस