काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग क्षेत्रको निरीक्षणमा निस्किएकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी थिए । उनीहरूले द्रुतमार्ग निर्माणको हालको अवस्था, कामको प्रगति, निर्माणको गुणस्तर तथा तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने विषयमा सम्बन्धित निकायसँग जानकारी लिएको जनाइएको छ ।
प्रधानमन्त्री कार्कीले द्रुतमार्गलाई मुलुकको आर्थिक विकास र राजधानी काठमाडौंलाई तराई–मधेससँग छिटो र सहज रूपमा जोड्ने महत्वपूर्ण पूर्वाधार परियोजना भएको उल्लेख गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएकी छन् । उनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
सरकारले काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखी आवश्यक बजेट, जनशक्ति र स्रोत–साधनको व्यवस्था गर्दै आएको जनाएको छ । आयोजनाले सम्पन्न भएपछि राजधानी र तराईबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने तथा व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजना निर्माणमा देखिएका चुनौती, समस्या र समाधानका उपायबारे पनि सरोकारवाला निकायसँग छलफल गरेकी थिइन् । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई सफल बनाउन नियमित अनुगमन र सहजीकरण जारी राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस