२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सङ्घर्ष, पीडा र जिम्मेवारीले राजनीतिमा ल्याएको नाम ‘प्रवल थापा’

सोमवार , फाल्गुण १८, २०८२

काठमाडाैं । कतिपय नामहरू केवल चिनारी मात्र हुँदैनन् । समय र संघर्षका साक्षी हुन्छन् ।

जीवन योजना अनुसार होइन, परिस्थितिको आँधी चिर्दै आकार लिन्छ। प्रवल थापा त्यस्तै जीवनको कथा हुन्, जो सङ्घर्षको आँधी परास्त गर्दै अगाडि बढेका छन्।

प्रवल थापा । सङ्घर्षले जन्माएको, पीडाले परिपक्व बनाएको र जिम्मेवारीले राजनीतिमा ल्याएको नाम ।

सात पुस्तादेखि काठमाडौँ नयाँ बानेश्वरको थापागाउँ उनको घर हो । तर घर हुनु र आश्रय हुनु सधैँ एउटै हुँदैन । कतिपय घरहरू छानाले होइन, पिडा र सङ्घर्षको बीच धैर्यले टिकेका हुन्छन् ।

वि.सं. २०४० साल, भदौ १२ गते । सायद सङ्घर्षका लागि लेखिएको तिथि थियो । प्रवलले धर्ती टेके ।

नाम राख्दा कसैले अनुमान गरेन, यो नाम एक दिन सङ्घर्षको पर्याय बन्नेछ भनेर । काठमाडौँ गाउँ जस्तै थियो । आकाश खुला थियो तर जीवन यति निर्दयी हुन सक्छ भन्ने अनुमान कसैलाई थिएन ।

थापा २० महिनाका मात्रै थिए । भर्खर हिड्न सिक्दै गरेका उनलाई डोर्‍याएर संसार देखाउनु पर्ने उनका बुबा परलोक भए । घरको मूल खम्बा ढल्यो । जीवनले सोच्दै नसोचेको कठोरताको परिचय दियो ।

बुवा प्रदीप थापा पुलचोक क्याम्पसका प्रशासक थिए । नेपाली कांग्रेसका निष्ठावान् कार्यकर्ता, २०३६ सालको पञ्चायत बिरोधी मुभमेन्टका लडाकु । राजनीति उनको सपना थियो । तर कर्मचारी भएकै कारण खुला भूमिकामा खेल्न पाएनन् ।

त्यो अधुरो सपना, बुवासँगै अन्त्य भएन । समयसँगै, छोराको जीवनमा सरेर आयो । त्यै अधुरो राजनीतिक सपना, छोरो प्रवलको जीवनभरि साथ लागिरह्यो । छाया बनेर, मार्गदर्शक बनेर, याद अनि कर्तव्य बनेर ।

बुवा गुमेपछि एउटै आधार बाँकी रह्यो - आमा, रीता थापा । २१ बर्षको उमेरमा २ वटा काखे बालखा हुँदा पति बियोगमा परेकी उनी केवल शोकमा डुबेको आमा बनिनन् । प्रवलको बुवा पनि बनिन् । कयौँ रात चुपचाप रोइन् । एक्लै लडिन् । घर चलाइन् । सन्तान हुर्काइन् । र एउटा छोरालाई हार नमान्ने मान्छे बनाइन् ।

आजको प्रवल थापा कुनै चमत्कार होइनन् । उनी त्यै आमाको मेहनत, त्याग र मौन आँसु अनि अथक पसिनाको परिणाम हुन् । दुई सन्तानमध्ये बहिनी त बुवाको निधन हुँदा चार महिनाकी मात्रै थिइन् ।

उनी सेन्ट जेभियर्समा पढ्थे । बाल्यकाल चाँडै सकियो । अझ भनौँ जिम्मेवारीले बाल्यकाल नै खाइदियो । जिम्मेवारी काँधमा चढ्दै गयो । समय बित्दै गयो तर पीडाले कहिल्यै बिदा लिएन ।

तर जिवनमा पीडाको अर्को अध्याय खुल्दै गयो । १० वर्षको उमेरमा हजुरबुवा बिते, १५ वर्षको हुँदा हजुरआमा । दुई हजुरआमामध्ये ८६ वर्षको एक जना आज पनि जीवित छन् ।

कक्षा ८ मा भारत पढ्न गएका थिए प्रवल । तर कर्तव्यले फेरि घरै फर्कायो । जीवनले जति टाढा लैजान खोज्यो, जिम्मेवारीले उति नै नजिक तानिरह्यो ।

आज भन्दा ३ दशक अगाडीको सामाजिक अवस्थामा “घरको एक्लो पुरुष”-यी शब्द उनको उमेरभन्दा धेरै ठुलो भारी थियो । आर्थिक, सामाजिक, पारिवारिक लगायत जिम्मेवारी उनको काँधमा । उनी उमेरले छोरा थिए । तर भूमिकाले पहिल्यै बुवा बनाइसकेको थियो । अभिभावकत्व लिदैं बहिनीको विवाह गराइदिए ।

उनी बेला बेला बाल्यकालको काठमाडौँ सम्झन्छन् । खेतै खेत, खुला मैदान, बुद्धनगर ग्राउण्डमा क्रिकेट र फुटबल, साइकलमा सररर असन र इन्द्रचोक । गुच्चा, क्यारम बोर्ड । गाई थिए, गाई चराउन जान्थे, स्याल देखिन्थ्यो ।

आज भूगोल बद्लिएको छ, तर त्यही माटोले बनाएको मान्छे अझै उस्तै छ । उनले क्याम्पियन कलेजमा स्नातक गरे । नेपाल इन्भेष्टमेन्ट बैङ्कमा जागिर पनि गरे, तर आमाको एउटा सपना थियो, “संसार हेरेर आउनुपर्छ ।”

प्रवल अष्ट्रेलिया पुगे । काम गर्दै पढे । पत्रिका बेच्नेदेखि कतिका घर पुछ्नेसम्म । मनभित्र सधैँ एउटै डर रहन्थ्यो । उनी सम्झन्छन् “फेल भएँ भने घर फर्कन सक्दिनँ । त्यसैले यसरी पढे, डिस्टिङ्सन हाने ।”

सङ्घर्ष उनको रोजाइ थिएन तर सङ्घर्षबाट कहिल्यै भागेनन् । बिस्तारै सुबिधाको सन्सारमा रमाउँदै थिए स्नातकोत्तर सकियो । माटोको सुगन्ध यति कडा चुम्बक बनिदियो कि पढाइ सक्नासाथ उनी चटक्कै अस्ट्रेलिया छोडेर नेपाल फर्किए ।

राजनीति पनि उनले सजिलै पाएका होइनन् । कसैले टीका लगाएको या अनुग्रहमा अगाडि बढेको होइन । जितेरै कमाएका हुन् । २०६४ सालदेखि नेपाल विद्यार्थी सङ्घ, तरुण दल, जिल्ला, केन्द्रका हरेक पदमा चुनाव जिते । सर्वाधिक मत ल्याएर । उनी निष्ठापूवर्क राजनीतिमा छन् ।

दश वर्षसम्म नेपाली काँग्रेसको क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय उनकै घरमा चल्यो । सङ्गठन उनका लागि राजनीति नभई परिवार बन्यो । त्यसैले सङ्गठन विस्तार उनको आचरण हो ।

प्रकाशमान सिंहले तीन वटा चुनाव लड्दा प्रवल सँगै थिए । यस पटक भने चुनावमा आफैँ उठ्न पर्ने भयो । यो कसैको आदेश हैन नेतृत्वको विश्वास हो, र विश्वास यसै पाइँदैन, आर्जन गरिन्छ ।

जेन-जी आन्दोलनको म्यान्डेट, काङ्ग्रेस भित्रको रुपान्तरण अनुसार आज उनी काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवार भएर नेतृत्वको मोडमा छन् ।

उनको राजनीतिक एजेन्डा भाषण होइन, जीवनबाट आएको हो । कागजमा लेखिएको नभई, जीवनले सिकाएको हो, लोकतन्त्र, सुशासन, पारदर्शिता । संसद्मा बोल्ने सांसद, नीति निर्माणमा सक्रिय भूमिका । काठमाडौँ–१ लाई नमुना शहरी मोडल बनाउने सपना । ट्राफिक र पार्किङ समाधान, उद्यमशीलता र रोजगारी, हरियाली र सम्पदा संरक्षण, सुकुम्वासीको वैज्ञानिक र न्यायोचित व्यवस्थापन । शहरी गरिबी घटाउने, सीप र रोजगारी सिर्जना । देशको अर्थतन्त्रलाई सशंकितबाट लगानीयोग्य बनाउने दृष्टि ।

उनी काठमाडौँ क्षेत्र नम्बर एकमा देखिने सुनिने उम्मेदवार हुन् । यो क्षेत्र बुझ्न अरुले पढ्नुपर्छ, उनले भोगेका छन् । उनी चुनावका लागि अचानक त्यो भुगोल पुगेका होइनन्, त्यही माटोको सुगन्धले हुर्काएका पात्र हुन् । तर यी सबैभन्दा माथि एउटै मात्र कुरा छ उनी सङ्घर्ष बुझ्ने व्यक्ति हुन् । उनले सङ्घर्ष पढेका छैनन् बाँचेकै छन् ।

त्यसैले प्रवल थापा केवल उम्मेदवार होइनन् । उनी, ती हजारौँ युवाहरूको प्रतिनिधि हुन् जसले बाबु बिना हुर्कनपर्‍यो । आमाको काँध बनेर हिँड्नुपर्‍यो र जिम्मेवारीलाई भाग्य मानेर स्विकार्नुपर्‍यो ।

सङ्घर्ष कुनै नारा होइन । सङ्घर्ष त जीवन हो, र आज काठमाडौँ–१ मा सङ्घर्षको अर्को नाम उभिएको छ–प्रवल थापा ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट