चीना थापा / तेह्रथुम । पूर्वी नेपालको तेह्रथुम जिल्लास्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ । विशेषगरी चैतदेखि जेठसम्म तीनजुरे क्षेत्र गुराँसले राताम्मे बन्छ । रातो, सेतो, रातो–सेतो छिर्केमिर्के तथा हल्का पहेंलो रंगका गुराँसले डाँडाकाँडा ढकमक्क ढाकिँदा प्राकृतिक सौन्दर्य झनै मनमोहक देखिन्छ ।

स्थानीयका अनुसार तिनजुरे–मिल्के–जलजले वन क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् । यद्यपि कुन प्रजाति कहाँ पाइन्छ भन्नेबारे स्पष्ट अध्ययन भने अझै हुन सकेको छैन ।

लालीगुराँस नगरपालिकाको उत्तरी भागमा अवस्थित तीनजुरे डाँडो उत्तर तथा उत्तरपश्चिमतर्फ संखुवासभाको धर्मदेवी नगरपालिकासँग जोडिएको छ । तीनजुरे डाँडादेखि उत्तरतर्फ गुफापोखरीसम्म फैलिएको भूभागलाई समग्रमा तिनजुरे क्षेत्रका रूपमा चिनिन्छ ।

यस क्षेत्रसँग जोडिएका तेह्रथुमको मेन्छायाम धाप गाउँपालिका तथा संखुवासभाका मादी र चैनपुर नगरपालिका पनि समान उचाइ र उस्तै प्रकृति भएका क्षेत्र हुन् ।

तेह्रथुमको तीनजुरे, मिल्के र जलजले क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर वनजंगल रंगिएका छन् । ‘गुराँसको राजधानी’ भनेर चिनिने यस क्षेत्रमा विश्वभर पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइने बताइन्छ । गुराँसको अनुपम सौन्दर्य अवलोकन गर्न हरेक वर्ष यो मौसममा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक तीनजुरे पुग्ने गर्दछन् । तिनजुरे जाने पर्यटकलाई बाटोभरि पहाड आफैंले फूलको मुस्कानले स्वागत गरिरहेको हुन्छ ।

कोशी पहाडी राजमार्ग अन्तर्गत धरान, धनकुटा, बसन्तपुर हुँदै टुटे देउराली पुगिन्छ । टुटे देउरालीबाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदलपछि पाथिभरा पनि पुगिन्छ । सानो पाथिभरा मन्दिर पुगेपछि त्यहाँको धार्मिक आस्था र प्राकृतिक शान्तिले मन शान्त हुन्छ । हजारौं खुड्किला चढेर पुगिने त्यो मन्दिर केवल धार्मिक स्थल मात्रै होइन, आत्मालाई शान्त बनाउने स्थल पनि हो भन्ने भान हुन्छ ।
तीनजुरे, मिल्के र जलजले क्षेत्रलाई समेटेर बनेको राष्ट्रिय गुराँस संरक्षण क्षेत्र साँच्चै प्रकृतिको अनुपम उपहार हो । त्यहाँ पाइने विभिन्न प्रजातिका गुराँसले त्यो क्षेत्रलाई विशेष बनाएको छ ।

मलाई लाग्छ, तीनजुरे यात्रा एकपटक गरेपछि मनबाट कहिल्यै ओझेमा पर्दैन । आँखाले देखेको त्यो सौन्दर्य सँधै स्मृतिमा ताजै रहन्छ ।
आरआर गार्डेनमा पुगेर वरिपरिको दृश्य नियाल्दा लाग्छ—स्वर्ग शायद यस्तै हुन्छ होला । ढुंगाका कलात्मक आकृति, पोखरीको शान्त पानी, गुराँसका रंगीचंगी फूल र हरियालीले थकाइ बिर्साइदिन्छ ।
चोलुङ पार्क
तीनचुरे यात्रा गर्नेले छुटाउँनै नहुने अर्को ठाउँ हो चोलुङ पार्क । प्रकृतिपूजक लिम्बु समुदायको सांस्कृतिक आत्मा बोकेको त्यो पार्क साँच्चै अद्भुत छ । त्यहाँ पुगेपछि बुझिन्छ ढुंगा केवल निर्जीव वस्तु होइन, इतिहास हो, संस्कार हो, विश्वास हो ।

पूर्वी पहाडी भेगमा बसोबास गर्ने लिम्बु समुदायको जीवनमा ढुंगाको विशेष महत्व छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा ढुंगालाई साक्षी राख्ने परम्परा आजसम्म जीवित छ । मितेरी गाँस्दा, सम्बन्ध जोड्दा वा तोड्दा समेत ढुंगा गाड्ने संस्कारले उनीहरूको सभ्यता कति गहिरो र मौलिक छ भन्ने अनुभूति गराउँछ । 
“चो” अर्थात् लक्ष्य र “लुङ” अर्थात् ढुंगा—यही अर्थबाट बनेको रहेछ ‘चोलुङ’ । लिम्बु सभ्यताको पुनर्जागरण गर्ने उद्देश्यले निर्माण गरिएको यो पार्क साँच्चै सांस्कृतिक संग्रहालयजस्तै छ ।
पार्कभरि गाडिएका अग्ला ढुंगाका स्तम्भ, युमा देवीसँग सम्बन्धित संरचनाहरू, ढुंगाको तराजु, पवित्र पानीका मुहान, ऐतिहासिक घरहरू—यी सबैले लिम्बु सभ्यताको मौन कथा सुनाइरहेका हुन्छन् । प्रकृति र संस्कृतिको यस्तो संगम विरलै देख्न पाइन्छ ।

कहिलेकाहीँ पृथ्वीले केही यस्ता ठाउँ बनाउँछ, जहाँ पुगेर मानिस केवल घुमेर फर्कँदैन—ऊ आफैंभित्र केही बदलिएको महसुस गर्छ ।
तीनजुरे त्यस्तै एउटा ठाउँ हो । जहाँ पुगेर प्रकृतिलाई केवल हेरिँदैन, महसुस गरिन्छ । जहाँ गुराँसका फूलहरू केवल फुल्दैनन्, मनभित्र पनि रंग भरिदिन्छन् । र जहाँबाट फर्किएपछि पनि यात्राको तिर्सना कहिल्यै मेटिँदैन ।

प्रतिक्रिया दिनुहोस