धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ः३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको क्रममा सडकमा रोकिएको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसलगत्तै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०१–००६ ख ६७१६ नम्बरको अर्को बसले पनि उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३७ जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको थियो । घाइतेहरूको प्रारम्भिक उपचार बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा गरिएको थियो ।
प्रहरीका अनुसार तीन जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । तीमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । दुर्घटनामा संलग्न तीनवटै सवारी साधनमा गरी ६८ जना यात्रु सवार रहेका थिए ।
घटनापछि तीनवटै सवारी साधनका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालकहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहटका २८ वर्षीय प्रमोद चौधरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस