काठमाडौं । सर्लाहीकी सकुन्तल शाह काठमाडौंको कपन–सुकेधारामा मकै पोलेर परिवार चलाइरहेकी थिइन् । दैनिक ज्याला मजदुरी गरेरै जीवन धानिरहेकी सकुन्तलको संसार उनका नाबालक छोरा अन्सकुमार साह वरिपरि घुम्थ्यो । तर एकाएक आएको एउटा दुखद् खबरले उनको होसहवास उड्यो ।

स्थानीय बासिन्दाले आत्तिँदै आएर उनका छोरालाई गाडीले ठक्कर दिएको खबर सुनाए । ट्युसन पढेर कोठातर्फ फर्किरहेका अन्स बाटो काट्ने क्रममा दुर्घटनामा परेका थिए । खबर सुन्नासाथ आमाको मुटुले ठाउँ छोड्यो । उनी सबैथोक छोडेर घटनास्थलतर्फ दौडिइन् ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका बालकलाई तत्काल शिक्षण अस्पताल पु¥याइयो । तर त्यहाँबाट उनलाई थप उपचारका लागि भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज रेफर गरियो । एकातिर चोटको असह्य पीडाले सानो बालक अस्पतालको बेडमा छटपटाइरहेका थिए भने अर्कोतिर आमाको मन उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले जलिरहेको थियो । गरिबी, पीडा र असहायताको त्यो क्षण सकुन्तलका लागि अत्यन्तै कठिन थियो ।

संयोग पनि कहिलेकाहीँ जीवन बदल्ने गरी आउँदो रहेछ । सकुन्तलको त्यो पीडा र छटपटाहट उनकै छिमेकीसमेत रहेका सहयोगी माधव चौलागाईंले थाहा पाए । उनै चौलागाईंले नै काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका युवानेता डाक्टर सुनीलकुमार शर्मासँग अन्सको निःशुल्क उपचारका लागि आग्रह गरे ।
सबै कुरा बुझिसकेपछि डा. शर्माले अन्सको उपचार तत्काल अघि बढाउन अस्पतालका पदाधिकारी र चिकित्सकहरूलाई निर्देशन दिए । त्यसपछि डाक्टरहरूको टोलीले अन्सको टाउकोको सफल शल्यक्रिया गर्यो । समयमै पाएको उपचार, चिकित्सकहरूको मेहनत र सबैको साथले अहिले अन्स क्रमशः निको हुँदै गइरहेका छन् ।

आज सकुन्तलको आँखामा फेरि आशाको उज्यालो फर्किएको छ । छोराले नयाँ जीवन पाएको खुसीमा उनले डा। शर्मा, उपचारमा संलग्न चिकित्सक टोली र सहयोग गर्ने सबैप्रति आफ्नै मातृभाषामा भावुक हुँदै धन्यवाद व्यक्त गरेकी छन् ।
कहिलेकाहीँ एउटा सहयोग, एउटा निर्णय र समयमै गरिएको उपचारले कसैको जीवनमा नयाँ बिहानी ल्याइदिन्छ । अन्सको जीवनमा पनि यस्तै नयाँ बिहानी उदाएको छ ।
डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन् ।
प्रतिक्रिया दिनुहोस