जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिन आज दिउँसो १ः०० बजे प्रदेशसभाको विशेष बैठक आह्वान गरिएको छ ।
गत वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ १ गते नै विश्वासको मत लिने तयारी गरेका थिए । तर, आफ्नै दल नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र तत्कालीन सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिने निर्णय नगरेपछि उनी पछि हटेका थिए ।
मुख्यमन्त्री यादवले जसपा नेपालका तर्फबाट सरकारमा सहभागी तीन मन्त्रीहरूलाई बर्खास्त गरी नेकपा एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री समिरले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । यसअघि मुख्यमन्त्रीले जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए । निर्देशनलगत्तै जनमतका तर्फबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहाले राजीनामा बुझाएका थिए । तर, जसपाका मन्त्रीहरूले राजीनामा दिन अस्वीकार गरेपछि उनीहरूलाई पदबाट बर्खास्त गरिएको हो ।
बर्खास्तीमा पर्नेहरूमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् । मधेस प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन दलीय नयाँ गठबन्धन बनेको छ । यो नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री यादवको सरकार जोगिने निश्चितप्रायः देखिएको छ । कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन र विश्वासको मत प्राप्त गर्न न्यूनतम ५४ सिट आवश्यक पर्छ । हाल लोसपा समेत समाहित भएको जसपा नेपालसँग २६ सिट छ भने दुई जना सांसद निलम्बनमा छन् ।
नेकपा एमाले २४ नेपाली कांग्रेस २२, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १५नवगठबन्धनको कुल सिट ६१ (स्पष्ट बहुमत)विपक्षी बेन्चमा भने जसपा नेपालको २६, जनमत पार्टीको १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १ र नेपाल संघीय समाजवादी पार्टीको १ सिट रहेको छ । ६१ सिटको बलियो समर्थन सुनिश्चित गरेर मैदानमा उत्रिएका मुख्यमन्त्री यादवले आज सजिलै विश्वासको मत पाउने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस