विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत विकासमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस २०८३ मूलसमारोह समितिको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रले देशलाई लोकतान्त्रिक अभ्यास, नागरिक स्वतन्त्रता र समावेशी शासन प्रणालीतर्फ अघि बढाएको उल्लेख गरेका गरे ।
उनले राणाशासन, पञ्चायती व्यवस्था र २०६२/६३ सालको जनआन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यथार्थलाई स्मरण गर्दै संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षण आजको प्रमुख आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री कार्कीले गणतन्त्र स्थापनापछि देशले राजनीतिक स्थायित्व, आर्थिक विकास तथा समृद्धिको आधार तयार गरेको उल्लेख गर्दै विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए ।
उनले नागरिकका अपेक्षा पूरा गर्न सुशासन, रोजगारी सिर्जना, उत्पादन वृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको पनि बताएका छन् । पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने तथा संस्थाप्रति अविश्वास फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य, समन्वय र आपसी विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान तथा भविष्यको आधार भएको उल्लेख गर्दै लोकतान्त्रिक संविधानको रक्षा गर्दै गणतन्त्रलाई अझ सुदृढ, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनुपर्ने बताए ।
उनले गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, सामाजिक न्याय, समावेशी विकास र राष्ट्रिय एकताको भावना थप मजबुत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे ।
दिवसको अवसरमा विभिन्न झाँकीहरुसहित र्याली निकालिएको थियो । र्यालीमा सहभागि झाँकीहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस