काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मलेनमार्फत राणाले पार्टी राप्रपा परित्याग गरेको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिएका हुन् । उनले समयको पदचाप र जनभावना अनुरूप, विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणको अभियान शुभारम्भका लागि राजनीतिक दल नै गठन गरेर अघि बढ्ने बताए ।
संस्थापनले नेता, कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी लखेटिरहने, कारबाही गरिरहने, अन्यायविरुद्ध बचाउमा लागिरहनु पर्ने मात्रै काम पछिल्लो चार बर्षमा भएको उनले बताए ।
उनले नीजि स्वार्थमा संस्थापनबाट नै स्वःपक्षीय गुट बनाइएको र वैचारिक आदर्शसंग धोका र खेलवाड प्रतिविम्व भएको आरोप लगाए ।
राणाले देशविदेशमा रहेका नेपालीहरूले विश्वसनीय राष्ट्रवादी शक्तिको रिक्तता पूर्ति गर्न सल्लाह दिएकाले जनस्तरबाट प्राप्त सद्भाव र विश्वासलाई आत्मसात गर्दै समयको माग र राष्ट्रको आवश्यकताअनुरूप एक कर्मनिष्ठ राष्ट्रवादी राजनीतिक दलको नवनिर्माणको प्रक्रियाको थालनी भएको उल्लेख गरे ।
संवैधानिक राजसंस्थात्मक जनप्रतिनिधिमूलक आधुनिक प्रजातान्त्रिक राज्यप्रणाली तथा हिन्दु, बौद्ध, किरात सहितको सनातनी पहिचान अव बन्ने पार्टीको आधारशीला रहने उनले जानकारी दिए ।
उनले युवा र महिलालाई केन्द्रीय कार्यसमिति लगायत समितिहरूमा ६० प्रतिशत भूमिका सुनिश्चित गर्दै अग्रजहरूलाई सल्लाहकार एवं प्रवुद्ध वर्गको सम्मानमा राख्ने बताए । युवा र महिलाहरू जिल्लास्तरबाट समेत केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने संरचना रहने उनको भनाइ छ । नयाँ पार्टीमा दुर्गा प्रसाईको अभियानलगाएतका अन्य शक्तिहरु पनि एकताबद्ध हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस