चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता जारी गरेको छ। केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा गुटबन्दी, प्यानल निर्माण, भड्किलो प्रचारप्रसार तथा सामाजिक सञ्जालको दुरुपयोगमाथि कडा प्रतिबन्ध लगाइएको छ।
आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन आयोगबाट उम्मेदवारी स्वीकृत भएपछि मात्र औपचारिक प्रचारप्रसार गर्न पाउनेछन्। निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको प्यानल, गठबन्धन वा समूहगत प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रचारका लागि अधिकतम २×२ फिट आकारको एउटा पोस्टर मात्र प्रयोग गर्न पाइनेछ। महाधिवेशनस्थल र आसपासका क्षेत्रमा पर्चा, पम्प्लेट, ब्यानर तथा फ्लेक्स वितरण र प्रदर्शन गर्न निषेध गरिएको छ।
सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने, शुल्क तिरेर विज्ञापन गर्ने तथा प्रतिस्पर्धी उम्मेदवारविरुद्ध व्यक्तिगत आक्षेप लगाउने कार्यसमेत आचारसंहिताविपरीत मानिने उल्लेख गरिएको छ। उम्मेदवारहरूलाई प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न छुट भए पनि नाराबाजी, जुलुस, शक्ति प्रदर्शन र होहल्ला गर्न रोक लगाइएको छ।
आचारसंहिताले पद तथा प्रभावको दुरुपयोग, आर्थिक प्रलोभन, उपहार वितरण, भोजभतेर र चरित्रहत्या गर्ने उद्देश्यका गतिविधिलाई पनि निषेध गरेको छ। पार्टीका बहालवाला पदाधिकारी, मन्त्री तथा सांसदले आफ्नो पद वा प्रभाव प्रयोग गरी निर्वाचन प्रभावित पार्न नपाउने व्यवस्था गरिएको छ।
मतदान प्रक्रियालाई गोप्य र व्यवस्थित बनाउन मतदानस्थलभित्र मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरण लैजान र फोटो वा भिडियो खिच्नसमेत रोक लगाइएको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा प्रमाणसहित उजुरी दिन सकिने र छानबिनपछि चेतावनीदेखि उम्मेदवारी खारेजीसम्मका कारबाही सिफारिस गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस