२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाऔँ

शनिवार , आषाढ ६, २०८३

डा. तेजबहादुर कार्की

आजको वैज्ञानिक युगमा अनुसन्धान भन्नासाथ प्रयोगशाला, तथ्याङ्क, परीक्षण र मापनयोग्य परिणाममा आधारित पाश्चात्य सिद्धान्तहरूको सम्झना आउँछ। कुनै अनुसन्धान प्रारम्भ गर्दा हामी सर्वप्रथम आफ्नो विषयसँग मेल खाने पाश्चात्य सिद्धान्त खोज्छौँ र त्यसैलाई सैद्धान्तिक आधार बनाएर अध्ययन अघि बढाउँछौँ। तर अनुसन्धानको प्रारम्भिक चरणमै हाम्रो आफ्नै पूर्वीय दर्शन कति समृद्ध, गहिरो र अनुसन्धानयोग्य छ भन्ने प्रश्न भने विरलै उठ्छ।

हजारौँ वर्षको चिन्तन, अनुभव र ज्ञानपरम्पराले समृद्ध पूर्वीय दर्शन अनुसन्धानका लागि अत्यन्तै बलियो सैद्धान्तिक आधार बन्न सक्छ। यदि हामीले यसको गहिराइलाई वैज्ञानिक दृष्टिले अध्ययन गर्दै अनुसन्धानमा प्रयोग गर्न सक्यौँ भने हाम्रो शैक्षिक जगत्ले नयाँ दिशा प्राप्त गर्नेछ। साथै विश्वसामु पूर्वीय ज्ञानपरम्परालाई प्रमाणिक, प्रासङ्गिक र अनुसन्धानयोग्य सिद्धान्तका रूपमा स्थापित गर्न सकिनेछ।

पूर्वीय दर्शनलाई अनुसन्धानसँग जोड्न सकिएमा अनुसन्धानकर्ताको बौद्धिक, नैतिक र व्यावहारिक क्षमतामा गुणात्मक सुधार आउन सक्छ। यसले हाम्रो शिक्षा प्रणालीलाई मौलिकता प्रदान गर्नुका साथै विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो बनाउन मद्दत गर्नेछ। अनुसन्धानकर्ताको शारीरिक, मानसिक र आध्यात्मिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले यसको लाभ व्यक्ति, समाज र राष्ट्रसम्म विस्तार हुनेछ। एकातर्फ हाम्रो मौलिक दर्शन विश्व अनुसन्धान समुदायमा स्थापित हुनेछ भने अर्कोतर्फ सकारात्मक सोच, नैतिक चेतना र आत्मबोधले सम्पन्न शैक्षिक जनशक्ति तयार हुनेछ।

वैदिक, बौद्ध, जैन तथा योग दर्शन मानव सभ्यताका अमूल्य बौद्धिक सम्पदा हुन्। दुर्भाग्यवश, यी ज्ञानपरम्परालाई हामीले लामो समयसम्म केवल धार्मिक वा पौराणिक आस्थाको सीमित घेराभित्र राख्यौँ। वास्तवमा यी दर्शनहरूले मानवीय चेतना, ज्ञानको स्वरूप, नैतिकता, सदाचार, आत्मबोध र ब्रह्माण्डीय सत्यको खोजीलाई केन्द्रमा राखेका छन्। उपनिषद्, भगवद्गीता, पतञ्जलिको योगसूत्र, बुद्धका उपदेश, महावीरका शिक्षादेखि ऋषिमुनि र सन्तहरूको चिन्तनसम्म पूर्वीय ज्ञानका अनुपम स्रोतहरू हुन्।

यी दर्शनहरूको एउटा महत्वपूर्ण विशेषता भनेको व्यक्तिको आन्तरिक चेतना र बाह्य संसारबीचको सम्बन्धलाई गहिरो रूपमा व्याख्या गर्नु हो। अनुसन्धानको मूल मर्म पनि यही हो—व्यक्ति, स्थान र समस्याबीचको सम्बन्धलाई बुझ्दै सत्यको खोजी गर्नु। अनुसन्धान सामान्यतः कुनै निश्चित भूगोलमा रहेका व्यक्ति वा समुदायले भोगेका समस्या, अनुभव वा आवश्यकताबाट सुरु हुन्छ। पूर्वीय दर्शनले पनि सत्यको खोजी आत्मबोधबाट प्रारम्भ हुने र बाह्य जगत्को ज्ञान त्यसैको विस्तार हुने बताउँछ।

आजको प्रतिस्पर्धात्मक शिक्षा प्रणाली, तीव्र आधुनिकीकरण र कृत्रिम बुद्धिमत्ताको विस्तारले विद्यार्थी तथा अनुसन्धानकर्तामा मानसिक दबाब बढाएको छ। तनाव, चिन्ता, अस्थिरता र एकाग्रताको अभाव अहिलेका प्रमुख चुनौती बनेका छन्। भौतिक उपलब्धि बढे पनि मानसिक सन्तुष्टि घट्दो क्रममा देखिन्छ। यस्तो अवस्थामा पूर्वीय ज्ञानपरम्पराले व्यावहारिक समाधान दिन सक्छ।

पूर्वीय दर्शनको मूल सन्देश के हो भने आफूभित्रको सत्यलाई नबुझी बाह्य सत्यको पूर्ण अनुभूति सम्भव हुँदैन। यसले सम्पूर्ण अस्तित्व परस्पर सम्बन्धित रहेको, ज्ञानको अन्तिम उद्देश्य शान्ति र आनन्द प्राप्ति भएको, दुःखको मूल कारण अज्ञानता र आसक्ति भएको तथा ध्यान, योग र आत्मचिन्तनबाट वास्तविक ज्ञान प्राप्त हुने मान्यता प्रस्तुत गर्दछ। यस्ता दृष्टिकोणहरूले अनुसन्धानकर्तालाई केवल विषय चयनमा मात्र होइन, अनुसन्धानको उद्देश्य र पद्धति निर्धारणमा समेत मार्गदर्शन गर्न सक्छन्।

पूर्वीय दर्शन केवल धार्मिक आस्था वा श्रुत परम्पराको सङ्ग्रह होइन; यो मानव चेतनाको परिष्कृत विज्ञान हो। यसले जीवन र जगत्का जटिल समस्याहरूको मूल कारण पहिचान गरी समाधानका लागि आवश्यक दृष्टि प्रदान गर्छ। वैदिक, बौद्ध, जैन तथा अन्य दार्शनिक परम्पराहरूमा रहेका अवधारणाहरूलाई एकीकृत गरी आधुनिक अनुसन्धानका लागि मौलिक सैद्धान्तिक ढाँचा निर्माण गर्न सकिन्छ। यसले बौद्धिक सम्पदालाई समृद्ध बनाउनुका साथै समकालीन चुनौतीहरूको समाधानका लागि वैचारिक आधार पनि प्रदान गर्नेछ।

आजको प्रतिस्पर्धात्मक शिक्षा प्रणाली, तीव्र आधुनिकीकरण र कृत्रिम बुद्धिमत्ताको विस्तारले विद्यार्थी तथा अनुसन्धानकर्तामा मानसिक दबाब बढाएको छ। तनाव, चिन्ता, अस्थिरता र एकाग्रताको अभाव अहिलेका प्रमुख चुनौती बनेका छन्। भौतिक उपलब्धि बढे पनि मानसिक सन्तुष्टि घट्दो क्रममा देखिन्छ। यस्तो अवस्थामा पूर्वीय ज्ञानपरम्पराले व्यावहारिक समाधान दिन सक्छ।

योग, प्राणायाम, ध्यान र सजगताका अभ्यासहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा प्रयोग गर्न सकिएमा अनुसन्धानकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्छ। नियमित योगाभ्यासले रोग प्रतिरोधात्मक क्षमता, ऊर्जा स्तर र हृदय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। त्यसैगरी ध्यान र माइन्डफुलनेसले तनाव, चिन्ता तथा अवसाद कम गर्न मद्दत गर्छ। लामो समयसम्म अध्ययन र अनुसन्धानमा संलग्न रहने व्यक्तिहरूका लागि यी अभ्यासहरू प्रभावकारी मानसिक औषधिका रूपमा स्थापित भइरहेका छन्।

पूर्वीय दर्शनमा अनुसन्धानका लागि उपयोगी अनेक सैद्धान्तिक आधारहरू विद्यमान छन्। उदाहरणका लागि, गौतम बुद्धद्वारा प्रतिपादित चार आर्य सत्य मानव जीवनका दुःख, त्यसका कारण, निवारण र निवारणको मार्गको व्यवस्थित व्याख्या गर्ने सिद्धान्त हो। यसलाई मानव समस्या, व्यवहार र जीवन व्यवस्थापनसम्बन्धी अनुसन्धानको आधार बनाउन सकिन्छ। त्यस्तै बुद्धका त्रिरत्न—‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’—लाई ज्ञान व्यवस्थापन र ज्ञानको दिगोपनासम्बन्धी सिद्धान्तका रूपमा विकास गर्न सकिन्छ।

पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनु भनेको अतीतमा फर्किनु होइन; बरु प्राचीन ज्ञानलाई आधुनिक वैज्ञानिक पद्धतिसँग समन्वय गर्नु हो। यसले अनुसन्धानकर्तालाई केवल तथ्य सङ्कलन गर्ने व्यक्तिमा सीमित नराखी संवेदनशील, सन्तुलित, नैतिक र समाजोपयोगी चिन्तकका रूपमा विकास गर्छ।

त्यसैगरी मुण्डको पनिषद्मा वर्णितपरा विद्या (आध्यात्मिक तथा उच्च ज्ञान) र अपरा विद्या (सांसारिक तथा व्यवहारिक ज्ञान) को अवधारणाले ज्ञानको वर्गीकरण र अध्ययनका लागि महत्वपूर्ण आधार प्रदान गर्छ। यस्ता अनेक पूर्वीय अवधारणाहरूलाई आधुनिक अनुसन्धानसँग जोडेर नयाँ सिद्धान्त निर्माण गर्न सकिने सम्भावना प्रशस्त छ।

हाम्रो पूर्वीय दर्शनले जीवनका हरेक आयामको व्याख्या मात्र गरेको छैन, समस्याको समाधानका आधारहरू पनि प्रस्तुत गरेको छ। अब आवश्यक कुरा भनेको यी ज्ञानपरम्पराको गहन अध्ययन, पुनव्र्याख्या र अनुसन्धानमा व्यवस्थित प्रयोग हो। विशेषतः उच्च शिक्षामा गरिने अनुसन्धानका लागि पूर्वीय दर्शनलाई सैद्धान्तिक आधार तथा मार्गचित्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ। यसका लागि प्राज्ञिक समुदाय, अनुसन्धानकर्ता, विश्वविद्यालय र नीति निर्माण तहबीच गम्भीर बहस र सहकार्य आवश्यक छ।

पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनु भनेको अतीतमा फर्किनु होइन; बरु प्राचीन ज्ञानलाई आधुनिक वैज्ञानिक पद्धतिसँग समन्वय गर्नु हो। यसले अनुसन्धानकर्तालाई केवल तथ्य सङ्कलन गर्ने व्यक्तिमा सीमित नराखी संवेदनशील, सन्तुलित, नैतिक र समाजोपयोगी चिन्तकका रूपमा विकास गर्छ।

नेपाल जस्तो पूर्वीय ज्ञान, दर्शन र अध्यात्मको धनी मुलुकमा यस विषयमा राष्ट्रिय बहस सुरु हुनु समयको माग हो। किनभने समृद्धि, शान्ति र दिगो विकासको खोजीमा रहेको आजको विश्वलाई नयाँ दृष्टिकोण आवश्यक छ, र त्यो दृष्टिकोणको बलियो आधार पूर्वीय दर्शन बन्न सक्छ। अनुसन्धानको भविष्य केवल बाह्य जगत्को अध्ययनमा सीमित छैन; आत्मबोध, चेतना र मानवीय मूल्यसँग जोडिएको अनुसन्धान नै आगामी युगको आवश्यकता हो। पूर्वीय दर्शनले यही मार्ग देखाउँछ।

(लेखक नेपाल फिलसफिकल रिसर्च सेन्टरका अध्यक्ष हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ