काठमाडौं । आन्तरिक विवादबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गर्दै संगठन विस्तार तथा प्रतिनिधि छनोटको कार्यतालिका सार्वजनिक गरेको हो। पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर असन्तुष्टि बढिरहेका बेला राप्रपाले महाधिवेशनमार्फत नेतृत्व र संगठनबारे टुंगो लगाउने तयारी गरेको छ । पार्टीका महामन्त्री धवलशम्शेर राणा लगायत धेरै नता कार्याकर्ताहरुले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलि माथी प्रश्न उठाउदै अर्काै पार्टी खोल्ने तयारी गरेका छन् । यस्तो बेला राप्रपाले महाधिवेशन गरेर नेतृत्वको छिनोफानो गर्न लागेको हो ।
महाधिवेशनलाई सफल बनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन को संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा केन्द्रीय नेतृत्व, प्रदेश तथा जिल्ला अध्यक्ष, सांसद, विभाग प्रमुख र भ्रातृ संगठनका प्रतिनिधिहरू रहनेछन्।
बैठकले भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, असोज १५ देखि २४ गतेसम्म सातै प्रदेशमा प्रदेश अधिवेशन गर्ने तथा सक्रिय सदस्यता वितरण अभियान पनि भदौ मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। सक्रिय सदस्यता प्राप्त व्यक्तिहरू मात्रै महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ। साथै प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा युवा सहभागिता सुनिश्चित गरिने जनाइएको छ।
यसैबीच बैठकले वर्तमान सरकारको कामकारबाहीमाथि तीव्र असन्तुष्टि व्यक्त गरेको छ। राप्रपाले करिब दुई तिहाइ जनमतसहित गठन भएको सरकारले सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ।
पार्टीले प्रधानमन्त्रीको संसदमै दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेको छ। साथै सामाजिक सञ्जालको प्रभाव प्रयोग गरेर आलोचनालाई निरुत्साहित गर्ने र अपारदर्शी शासन शैली अपनाउने प्रयास भइरहेको दाबी पनि गरेको छ।
राप्रपाले आगामी आर्थिक वर्षको बजेटमार्फत शिक्षा, स्वास्थ्य र विद्युत क्षेत्रमा लगाइएका कर फिर्ता लिन सरकारसँग माग गरेको छ। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, बजार अनुगमन प्रभावकारी बनाउन, नदी किनारका विस्थापित भूमिहीनलाई उचित पुनर्वासको व्यवस्था गर्न तथा निजी क्षेत्रलाई त्रासमुक्त वातावरण सिर्जना गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै चिया उद्योगमा देखिएको संकट समाधान, किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था तथा कृषि क्षेत्रका समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरिएको छ।
बैठकले पछिल्लो निर्वाचन परिणामलाई लिएर निराश नहुन पार्टीका नेता, कार्यकर्ता तथा समर्थकलाई आह्वान गर्दै राप्रपाको नीति, विचार र सिद्धान्तको आवश्यकता अझ बढ्दै गएको दाबी गरेको छ। पार्टीले देशभित्र र विदेशमा रहेका सदस्यलाई उच्च मनोबलका साथ संगठन निर्माणमा सक्रिय रहन अपिल समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस