logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

    ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

    3.8K
    Shares

    म्याग्दी । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुलको काम २९ महिना सम्म पनि सुरु हुन नसकेको हो । 

    मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच रु एक करोड ९३ लाखमा  विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठ ८ गते सम्झौताको म्याद सकिए पनि पुल निर्माण सुरु नै नभएको धवलागिरिका उपाध्यक्ष रेशम छन्त्यालले बताए । धवलागिरिको केन्द्रसहित पाँचवटा वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि पुल निर्माणका लागि पहल गरिएको र हाल सम्म सकिनु पर्ने पुलको काम नै सुरु नभएकोले स्थानीय सवै निराश भएको उनको भनाई छ । 

    फेदीमा गाउँपालिकाले अस्थायी मोटेरबल पुल बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । विसं २०७७ र ७८ को बर्खामा दाङखोलामा आएको बाढीले पुल पुरिएको थियो । पहिरो र बाढी पन्छाएर पुल सञ्चालनमा ल्याइएको छ । फेदीको दाङखोलामा मोटरेबल पुल नहुँदा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको उनले बताए । पच्चीस मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पुल निर्माणस्थल पर्ने भएपछि सम्झौतालगत्तै काम गर्न गएका निर्माण व्यवसायी फर्किएका थिए । 

    जलविद्युत् आयोजनाको बाँध स्थानानान्तरण भएपछि पुल निर्माण सुरु गर्ने तयारी गरेको अवस्थामा विसं २०७७ असारमा आएको बाढीले निर्माणस्थललाई क्षतविक्षत बनाएपछि पुनः सर्वेक्षण गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले डिजाइन परिवर्तन गरेर पहिलेकै निर्माण व्यवसायीमार्फत पुल निर्माण गराउन लागिएको बताए । उनले सम्झौता हुँदाको वर्ष दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको थियो तर विसं २०७७ बर्खाको बाढीले क्षति पु¥याएपछि रिडिजाइन गरी भेरिएसन अर्डर तयार गरी दाङखोलामा पुल निर्माण सुरु गर्ने तयारी भएको बताए  । यो योजनाको सम्झौताको म्याद आगामी चैतसम्म थपिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend