काठमाडौं । सरकारले मोवाइल बैंकिङबाट हुने कारोबारको शुल्क सस्तो गरेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा जोड दिने उद्देश्यले मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो गरेको हो ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको हकमा एकीकृत निर्देशन जारी गरेर १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिन सक्ने व्यवस्था गरेको छ । यो व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा रकम पठाउन चाहनेले १० रुपैयाँ मात्रै शुल्क तिर्नुपर्नेछ ।
५० हजारदेखि १ लाख रुपैयाँसम्म २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि ३० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ । मोवाइल बैंकिङबाट अर्को बैंकको खातामा रकम पठाउदा यस अघि यस्ता बैंकले आफै शुल्क निर्धारण गरेका थिए । सामान्यतया बैंकहरुले सानो रकम पठाउँदा पनि २० रुपैयाँभन्दा माथि शुल्क असुल गर्दैआएका थिए ।
एटीएममा प्रति कारोबार २० रुपैयाँ मात्र
नेपाल राष्ट्र बैंकले एटीएम प्रयोगकर्ताका हकमा पनि सहज व्यवस्था कार्यान्वयनमा ल्याएको छ । एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंक(अन्तर बैंक) को एटीएमबाट पैसा झिक्दा प्रति महिना दूई वटासम्म कारोबार निःशुल्क हुने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिँदै बैंकहरुले प्रति कारोबार २० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार प्रति कारोबार २५ रुपैयाँदेखि १ सयसम्म शुल्क लिँदै आएका बैंकहरुले अब अधिकतम २० रुपैयाँ मात्रै लिन पाउनेछन् । नेपाल राष्ट्र बैंक बैंकले विद्युतीय कारोबारमा लाग्ने शुल्कको आवश्यक जानकारी वेवसाइटमै राख्नुपर्ने व्यवस्था गरेको छ । कम्तिमा ६.६ महिनामा यस्तो शुल्कको बारेमा अपडेट गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।