logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • तिहारमा कस्तो मिठाई किन्ने ? गाईको आन्द्रा प्रयोग गरेर बन्छ चाँदीको वर्क !

    तिहारमा कस्तो मिठाई किन्ने ? गाईको आन्द्रा प्रयोग गरेर बन्छ चाँदीको वर्क !

    6.2K
    Shares

    काठमाडौं। भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउने सम्भावना पनि त्यतिकै हुन्छ। यस्तो समयमा विश्वासिलो पसलबाट मात्रै मिठाई खरिद गर्नुपर्ने विज्ञको सुझाव छ। नक्कली मिठाईको सेवनबाट ज्यान पनि जान सक्ने सम्भावना हुन्छ। 

    बजारमा अहिले गुणस्तरहिन मिठाईको दबदबा छ। पछिल्लो समय काठमाडौं महानगरपालिका, वाणिज्य विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दैआएको अनुगमनको क्रममा म्याद नाघेको कच्चा पदार्थ र खान योग्य रंग, पुरानो मिठाईमा नयाँ मिठाईको मिसावट, मिठाईको कच्चा पदार्थमा कमशल पदार्थको प्रयोग, मिठाई बनाउन प्रयोग हुने घिउ र तेल गुणस्तरहिन हुनुलाई समस्या मानिएको छ। 

    चाडपर्व भनेका उत्सव हुन यो समयमा रमाइलो गर्दै आफन्तजनसँग बसेर खाने मिठाई खरिद गर्दा निक्कै ध्यान दिनुपर्छ। गुणस्तरहीन नक्कली मिठाईको थोरै प्रयोगले पनि मानव स्वास्थ्यलाई दीर्घकालीन असर गर्ने सम्भावना हुन्छ। व्यापार बढाउने लोभमा तिहारमा बासी र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्री गर्ने अत्यधिक सम्भावना हुन्छ। यसका साथै नक्कली घिउ र तेलमा तारेर अखाद्य रंगको प्रयोग तथा सेतो टल्कने (चाँदी वर्क) हालेर रंगिचंगी बनाइएका स्वादिला मिठाईले पनि मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्नसक्छ।

    यस्तै नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थ्यकर हुन सक्छ। वरिष्ठ खाद्य वैज्ञानिक डा. दिलिप सुब्बाका अनुसार मिठाईलाई आकर्षक बनाउन प्रयोग हुने चाँदीको वर्क मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ। चाँदीको वर्क लागेको मिठाई सेवन गर्न नहुने उनको भनाइ छ।

    चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले मानव शरीरलाई निकै समस्या पार्छ। भारतको लखनउस्थित इन्डियन इस्टिच्युट अफ टक्सिकोलोजी रिसर्च सेन्टर र सिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले चाँदी वर्कको स्थानमा व्यवसायीले आल्मुनियमको प्रयोग गर्न थालेका छन्।

    डा.सुब्बा भन्छन्,‘यसले सिधै कलेजो र आन्द्रामा असर पार्छ।’ अध्ययनअनुसार चाँदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तत्व पाइन्छ। यस्ता मिठाईको उपभोग गर्दा क्यान्सर, कलेजो, मिर्गौला  र घाँटीसम्बन्धी रोग लाग्नसक्छ। 

    गाईको आन्द्रा प्रयोग गरेर बन्छ चाँदीको वर्क

    चाँदीको वर्क आफैमा विशुद्ध रूपमा शाकाहारी होइन। चाँदीको पातलो च्याप्टो टुक्रा बनाउन गाईको ताजा आन्द्राको प्रयोग गरिन्छ। गाईको आन्द्राबिना चाँदी वा आल्मुनियमको वर्क बन्न नसक्ने उक्त प्रतिवेदनले ठोकुवा गरेको छ। आन्द्रामा चाँदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुग्रोले पिट्ने गरिन्छ। मुग्रोले त्यतिबेलासम्म पिटिन्छ, जबसम्म यो पातलो च्याप्टो नबनोस्। यही वर्कलाई मिठाईमा सजाएर उपभोक्तालाई बिक्री गरिन्छ।

    मिठाईको मिसावट र गुणस्तरहीनता यत्तिमै सीमित छैन। सिंथेटिक पेन्ट्समा केही दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा र फरमालिन मिश्रण गरेर नक्कली दूधसम्म बनाउन थालिएको छ। नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ। यही खुवाबाट विभिन्न खालका वर्फी, पेडा र अन्य महँगा मिठाई तयार पारेर भीडभाडको मौका छोपेर बिक्री हुन्छ। खुवामा गहुँको पीठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घिउ मिसाएर गुणस्तरहीन मिठाई तयार पारिन्छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक संजीवकुमार कर्ण भन्छन्, ‘धेरै मुलुकमा यस्तो समस्या बाहिर आए पनि नेपालमा अहिलेसम्म फेला पार्न सकेका छैनौं।’ 

    नक्कली दूधबाट निर्मित मिठाई सेवनबाट वान्ता हुने, मिर्गौला र कलेजो बिग्रने र क्यान्सर लाग्नसक्छ। खुला रूपमा बिक्री हुने मिठाईमा पेट्रोलियम पदार्थबाट निस्कने अवशेष, धुलो, लिड (सिसा), क्याडमियम, पारोलगायत पदार्थको अवशेष मिश्रण हुने खतरा भएकाले मिठाईबाट सचेत हुनुपर्छ।

    अखाद्य रंग मिश्रण भएको मिठाई उपभोग गर्न नहुने जानकारी गराउँदै कर्णले सकेसम्म मिठाई तयार पार्दा प्रतिकिलोमा दुई सय एमएल खाने रंग मात्र प्रयोग गर्न सुझाव दिए। ‘तर सकेसम्म मिठाई तयार गर्दा खाद्य र अखाद्य दुवै प्रकारका रंग प्रयोग गर्नु हुन्न्’, उनले भने।

    mithai.jpg

     मिठाईमा गाईको आन्द्रादेखि भैंसीको बोसोसम्म मिसाइन्छ

    विभागका अनुसार अनुगमनका क्रममा अहिलेसम्म मिठाई बनाउने घिउ र मख्खनमा राँगा भैंसीको बोसो मिसाइएको, म्याद नाघेको घिउ र तेल प्रयोग गरिएको, घिउमा पाम आयल, डाल्डा, भेजिटेबल आयल मिसावट गरेको, सडेको खुवामा ताजा खुवा मिसाएर नयाँ मिठाई तयार पारेको, खुवामा बेसार र पीठो मिसाइएको, दूधमा कास्टिक सोडा मिसाइएको, तथा मिठाईमा खाद्य र अखाद्य रंग मिसाइएको पाइएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend