काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयर उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपक राज जोशीले ११ हजार ८२६ मत पाए।
काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकलाई नेकपा एमालेको पनि समर्थन थियो । तर एमालेको समर्थन पनि मेयरमा जित्न जोशीका लागि प्राप्त भएन । यस्तै उपप्रमुखमा पनि काँग्रेसकै इन्दिरा दरै १२ हजार ४९८ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन्। ०७४ मा पनि व्यासको मेयरमा काँग्रेसकै न्यौपाने र उपमेयरमा मीरा जोशी निर्वाचित भएको थियो ।
एमाले र गोविन्दराज जोशीको गठबन्धन तोड्दै न्यौपाने पुनः मेयरमा निर्वाचित भएका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरमा काँग्रेस पराजित गर्ने जोशीको सपना पुरा हुन सकेन । तनहुँमा पौडेल र जोशीबीच विगतदेखि नै टकराव छ । त्यो यस स्थानीय तह चुनावमा पनि देखिएको थियो ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend