logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मुस्ताङ र डोल्पा जोड्ने सडकमा मोटरेबल पुल निर्माण

    मुस्ताङ र डोल्पा जोड्ने सडकमा मोटरेबल पुल निर्माण

    12.5K
    Shares

    मुस्ताङ ।

    गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तत्कालीन जिल्ला विकास समिति मुस्ताङले ठेक्का लगाएको पुल निर्माणकार्य सुरु भएको सात वर्षपछि सकिएको हो ।

    पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माणका लागि विसं २०७२ असार ३१ गते एलाइट शङ्करमाली जेभीसँग रु १२ करोड १३ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो । ७.३ मिटर चौडाइ भएको पुलमा ४०–४० मिटरको दूरीमा तीनवटा स्पाम छन् । सङ्घीयता कार्यान्वयनसँगै पूर्वाधार विकास कार्यालय म्याग्दी हुँदै मुस्ताङलाई पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भएको थियो ।

    पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रविन चोखालले बहुप्रतिक्षित एक्लेभट्टी–पाक्लिङ सडक पुल निर्माण सकिएको जानकारी दिए । कार्यालयको टोलीले पुलको प्राविधिक नापजाँच गरेको छ । पुल निर्माणका लागि भएको सम्झौताको म्याद छपटक थपिएको थियो । प्राविधिक कमजोरीलाई कारण देखाएर निर्माण कम्पनी मुद्दा प्रक्रियामा पनि गएको थियो । कालोसूचीमा राखी कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि एलाइट शङ्करमाली जेभीले पछिल्लो समय युनिस निर्माण सेवालाई सहायक ठेकेदार नियुक्त गरेर काममा पठाएको थियो ।

    युनिस निर्माण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले अलपत्र अवस्थामा रहेको पुल निर्माणकार्यलाई करिब १८ महिनाको अवधिमा पूर्णता दिएको बताए । मूल सडकबाट पुलसम्म पुग्ने दुईतर्फ एक सय ३० मिटर सडक पनि निर्माण भएको छ ।

    एक्लेभट्टीमा पुल निर्माण भएपछि पाक्लिङ, साङ्तालगायत बस्तीका बासिन्दालाई आवतजावत, स्याउ, भेडा–च्याङग्रा, चौँरी निकासी गर्न सुविधा पुगेको छ । सवारीसाधनलाई कालीगण्डकी तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । एक्लेभट्टी हुदै डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको दुई जिल्लाको सिमाना याकखर्कसम्म मार्ग खुलेको छ ।

    डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने सांसद प्रेमप्रसाद तुलाचनले बताए । हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पाबासी एकै दिनमा आउन सक्नेछन् । -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend