logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

    चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

    4.4K
    Shares
    चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

    म्याङ्लुङ/रासस । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थे । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गरे । उनले छ महिना जति पढिन् । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।

    चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मानिनन् र उनी घर फर्किइन् ।

    प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो । बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न थिए । बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न भइन् । उनी त्यतिबेला खबर ओसारप्रसारमा संलग्न भइन् ।

    विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राखेकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइन् । उनको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । “सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए”, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भनिन्, “महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।”

    त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उनको राजनीतिक यात्रा लामो छ । विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बनिन् । विसं २०५४ मा उन नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बनेकी थिइन् ।

    विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बनेकी सीता २०६० सालमा सचिव बनेकी थिइन् । लगातार पार्टी राजनीतिमा लागेकी उन २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बनिन् ।

    विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बनेकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गरिन् । उन तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुन् । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनेकी थिइन् ।

    तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनिन् । उनी २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् । दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दै छिन् । सीताले १९ हजार सात सय दुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाएका थिए ।

    विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । “तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्”, उनले भनिन्, “अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु”, नवनिर्वाचित सांसद सीताले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend