logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • बाराही मन्दिर पुनः निर्माण गरिँदै

    बाराही मन्दिर पुनः निर्माण गरिँदै

    2.4K
    Shares
    बाराही मन्दिर पुनः निर्माण गरिँदै

    कास्की । विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनः निर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ ।

    फेवातालको बीच भाग अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनः निर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।

    भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइसकिएको छ । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका थिए।

    पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख लाग्ने अध्यक्ष कुँवरले जानकारी दिए । प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरुपमै मन्दिर पुनःनिर्माण गरिने अध्यक्ष कुँवरले बताए । मन्दिर पुनः निर्माण गर्न पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ताभित्र सम्झौता गरिने जानकारी अध्यक्ष कुँवरले दिए ।

    मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ । मन्दिर पाँच महिनाभित्र नै पुनः निर्माण गरिसक्ने बताइएको छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गर्नुभएको बताइन्छ । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ ।

    कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको मन्दिरका पुजारी परशुराम पहारीले सुनाउनुभयो । सबै धर्मका व्यक्तिले मन्दिरमा प्रवेश पाउँछन् । पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नै पर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ ।

    त्यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देखिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्दछ । पहिले पानीले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो ।

    तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीय ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पूर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको बताए । एक दिन बेलका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । बृद्धाले बास बस्न दिइन । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते ।

    घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भन्यो, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाँडै जानु ।” जोगी हिँडेको केही समयमा आवाज आयो । आवाज सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षा पछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।

    कास्कीका राजा कुलमन्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । कुलमन्डनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाउनुभयो । क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालबाराही देवीको शिला राखि पूजिँदै आएको किंबदन्ती छ ।

    फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो ।

    यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ बाट नृत्य पूजाआजा सुरु भएको हो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको बताइन्छ ।

    मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

    कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टराईले बताए ।

    तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उनले सुनाए । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

    डुङ्गा र तालबाराही मन्दिरका लागि प्रसिद्ध फेवाताल

    पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटक माझ लोकप्रिय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको बताइन्छ । ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ । यसको बीचमा बाराही मन्दिरको अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सफल भएको छ ।

    यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । फेवाताल समुद्री सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ । यस तालले लगभग पाँच दशमलव २३ वर्ग किमी (दुई वर्ग माइल) क्षेत्रफल ओगटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend