logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • इनासको आठौँ युरोपियन कार्यक्रमको भब्य तयारी, सम्पूर्ण कार्यतालिका सार्वजनिक

    इनासको आठौँ युरोपियन कार्यक्रमको भब्य तयारी, सम्पूर्ण कार्यतालिका सार्वजनिक

    7.8K
    Shares

    म्युनिख जर्मनी।  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको आठौँ युरोप महादेशीय कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाउनुका साथै कार्यक्रम सम्बन्धि सम्पूर्ण जानकारीहरु सार्वजनिक गरिएको छ।

    आगामी १४ र १५ अप्रिलका दिन जर्मनीको म्युनिख शहरमा युरोप महादेशस्तरीय आठौँ नृत्य र पाचौं गायन प्रतियोगितासहित आयोजना हुने इनासको आठौँ युरोप क्षेत्रीय सम्मेलनलाई क्षेत्रीय समिति र आयोजक राष्ट्र इनास जर्मनी लगायतका युरोप क्षेत्रभित्र रहेका राष्ट्रिय समितिहरुको प्रत्यक्ष सहकार्य तथा सहभागितामा व्यवस्थित र गरिमामय रुपमा सम्पन्न गर्न यहि जनवरी २८ तारिकका दिन प्रारम्भिक तयारी बैठक सम्पन्न गरिएको र उक्त बैठकमा तयारीका लागि भएका प्रगतिहरु तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा छलफल गरिएको इनास युरोप संयोजक प्रकाश तिवारीले बताएका छन्। इनास जर्मनीका अध्यक्ष सुनिल गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा आयोजक राष्ट्रका तर्फबाट इनास जर्मनीका अध्यक्ष सुनिल गरुङ्ग, महासचिव डा. सुनिल हमाल, सचिव मनिष लामिछाने तथा सांस्कृतिक संयोजक ज्योती ढुंगाना लगायतका पदाधिकारीहरुद्वारा कार्यक्रमका लागि प्राप्त हुनसक्ने सहयोग तथा हुने खर्च सहितको आर्थिक प्रक्षेपण-विवरण र व्यवस्थापनका सम्बन्धमा भए-गरेका काम तथा प्रगतिहरुको बारेमा जानकारी गराइएको र जर्मनी, अष्ट्रिया, फ्रान्स, पोल्याण्ड लगायतका राष्ट्रिय समितिहरुका साथै ग्लोबलका तर्फबाट अध्यक्ष, उपाध्यक्ष, युरोपका तर्फबाट संयोजक लगायतका इनासका पदाधिकारीहरु तथा म्युनिखमा कृयाशील हिमालयन परिवार, गुरुङ समाज लगायतका संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी तथा व्यवसायीहरुद्वारा केहि सुझावहरु प्रस्तुत गर्नुका साथैकार्यक्रमलाई गरिमामय रुपमा सम्पन्न गर्न पूर्णरुपमा हरतरहले सक्दो समन्वय र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको संयोजक तिवारीले जानकारी गराए।

    इनासले हरेक बर्ष आयोजना गर्ने महादेशस्तरको कार्यक्रमलाई नेपालीहरुको ठुलो सांस्कृतिक पर्वको रुपमा मनाइदै आएको भए पनि कोभिड महामारीका कारण २०२० देखि हुन पाएको थिएन ।

    आउँदो अप्रिल १४ र १५ तारिख आयोजना गरिएको यस दुई दिने कार्यक्रमको पहिलो दिन इनास युरोप महादेश अन्तर्गतका राष्ट्रिय समितिहरुको बैठक, प्रगति विवरण र भावी योजना प्रस्तुत् हुनेछ भने दोश्रो दिन आठौँ युरोप महादेशस्तरीय एकल नृत्य र पाचौं एकल गायन प्रतियोगिता सम्पन्न हुनेछ।

    इनासको यस युरोपस्तरीय प्रतियोगितामा भागलिने कलाकारहरुले आफुँ बस्ने राष्ट्रमा रहेको इनासको राष्ट्रिय समितिमा सम्पर्क राखी अडिसनमा भाग लिएर छनौट हुनुपर्नेछ। त्यसैगरी यदि इनासको संस्था नभएको युरोपेली राष्ट्रबाट सहभागिता जनाउन चाहने कलाकारहरुले इनास युरोपलाई सिधै [email protected] मा सम्पर्क गर्न सकिने बताइएको छ।

    बैठकमा सहभागी इनास ग्लोवलका अध्यक्ष पुष्प बरुवालले कार्यकम भव्य भन्दापनी गरिमामय हुनुपर्नेमा जोड दिदैं २०२० मा कोभिड महामारीका कारण अन्तिम चरणमा पुगेर पनि स्थगित गर्नुपरेको र अहिले तिन बर्ष पछि सोही स्थानमा हुन लागेको यस कार्यक्रमलाई सम्पन्न गर्न नपाउँदै स्वर्गवास हुनुभएका इनास युरोपका पुर्व संयोजक स्वर्गीय सन्त कुमार थापा मगरमा समर्पण गरिने पनि जनाए।

    युरोपस्थित बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, फिनल्याण्ड, स्विटजरल्याण्ड, चेक गणतन्त्र, नर्वे, आइसल्याण्ड लगायतका मुलुकहरुबाट ठूलो संख्यामा कलाकार, साहित्यकार पत्रकार, नेपाल सरकारका प्रतिनिधिहरु, युरोप स्थित नेपाली कुटनैतिक निकायका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहने यस कार्यक्रममा अन्य महादेशहरुबाट समेत इनास र अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने बताईएको छ।

    नृत्य प्रतियोगिता सम्बन्धी नियमहरु यसप्रकार हुनेछन ।

    १. प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।

    २. नृत्य एकल हुनुपर्नेछ ।

    ३. प्रतियोगीले आफूले नृत्य गर्ने  गीत आफैले छनौट गर्नुपर्नेछ ।

    ४. प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।

    ५. प्रतियोगितामा प्रतियोगीको उमेर कम्तिमा १३ बर्ष  वा सो भन्दा माथि हुनुपर्नेछ ।

    ६. प्रतियोगितामा संस्थागत रुपमा समेत भाग लिन पाईनेछ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत पत्र हुनु जरुरी छ ।

    ७. नृत्य गर्ने गीतको समय बढिमा ४ (चार) मिनेटको हुनुपर्नेछ ।

    ८. नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यवस्था गर्नुपर्नेछ । साथै प्रप्सको प्रयोग गर्दा बिभिन्न रंग पेन्ट तथा टुट फुट हुने सामग्री प्रयोग गर्न पाइने छैन।

    ९. प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नृत्यहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलिचत्रका लोक गीतहरु इत्यादी) र आधुनिक (नेपाली पप, आधुनिक,जाज (Jaaz) ब्रेक र रिमिक्स जस्ता आधुनिक् गितहरु) गरी दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गनुपर्नेछ ।

    १०. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगीले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्धारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपर्नेछ। दरखास्त फाराम तोकिएका सम्पर्क ब्यक्तिहरु तथा युरोप स्थित अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का राष्ट्रिय समिति हरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ।

    ११. एक देशबाट १ जना प्रतियोगीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन भने आयोजक राष्ट्रको हकमा २ जना प्रतियोगीले भाग लिन पाउने छन् ।

    १२. प्रतियोगीले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोल सम्वन्धी सम्पूर्ण जानकारी निबेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।

    १३. प्रतियोगीले आवेदन फारामका साथमा आवेदन शूल्क वापत ५० (पचास युरो) बुझाउनुपर्नेछ ।

    १४. सहभागिताको लागि आवेदन बुझाउने अन्तिम मिति ५ मार्च २०२३) सम्म हुनेछ।

    १५. प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रवेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन।

    १६. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगिलाई प्रतियोगितामा समावेश गरिने छैन ।

    १७. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १४ र १५ अप्रिल दुइ दिन सम्म खाने र बस्ने ब्यबस्था गरिनेछ। तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्नेछ।

    १८. नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष भुषा, हाउ भाउ, सुरुवात र अन्त्य लगायतलाई आधार मानिनेछ ।

    १९. प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागी एक बर्ष कायर्काल रहने गरि इनासको अवैतिनक मानार्थ सदभावना दूत (INAS Europe Goodwill Ambassador) नियुक्त गरिनुका साथै ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार २०२३) (INAS Europe Dancing Star 2023) को उपाधि सहित नगद ८०१ युरो (युरो आठ सय एक), ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०२३’ (INAS Europe Dancing Star 1st Runner up 2023) र ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०२३‘ (INAS Europe Dancing Star 2nd Runner up 2023) को बिशेष उपाधि सहित क्रमश ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै प्रमाण पत्र प्रदान गरिने छ। साथै विजयीहरुलाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तराष्ट्रियस्तरका कायर्क्रमहरुमा प्रस्तुतीका लागि अवसर प्रदान गरिनेछ र चलिचत्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।

    २०. प्रतियोगिताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ।

    गायन प्रतियोगिता सम्बन्धी नियमहरु यसप्रकार हुने छन

    १. प्रतियोगीले गाउने गीत नेपाली भाषाको हुनुपर्नेछ।

    २. गायन एकल हुनु पनेर् छ।

    ३. प्रितयोगीले आधुनिक र लोक गरि दुई ओटा गीतहरु गाउनु पर्नेछ ।

    ४. प्रतियोगीलाई एउटा गीत प्रस्तुत् गर्न बढीमा ४ मिनेटको समय प्रदान गरिनेछ।

    ५. प्रतियोगीले आधुनिक गीत म्युजिक ट्रयाकमा गाउँ सक्नेछन तर लोकगीत भने प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ। साथै लोक गीत प्रस्तुत् गर्दा गीतलाई सुहाउदो नेपाली भेष भुषा सहितको पहिरन सराहना गरिनेछ।

    ६. प्रतियोगीले प्रस्तुत् गर्ने गीत आफैंले छनौट गर्नुपर्नेछ।

    ७. कम्तिमा १३ बर्ष उमेर पुरा भएका नेपाली भाषी महिला तथा पुरुष जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउनेछन्।

    ८. प्रतियोगितामा व्यक्तिगत वा संस्थागत रुपले भाग लिन पाइने छ तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत पत्र हुनु जरुरी छ।

    ९. लोक गीतको लागी वाद्यवादन (मादल, हार्मोनियम, किबोर्ड, पियानो मध्ये एक आयोजकबाट उपलब्ध हुनेछ।  तर आधुनिक गायनको लागी आफुले गाउने गीतको म्युजिक ट्रयाकको व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्नेछ।

    १०. एक देशबाट बढीमा १ जना प्रतियोगीले प्रतियोगितामा भाग लिन पाउनेछन्।

    ११. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगीले एउटा पासपोर्ट साइजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपर्नेछ। दरखास्त फारम तोकिएका सम्पर्क ब्यक्ति तथा युरोप स्थित इनासका राष्ट्रिय समितिहरुबाट निशुल्क प्राप्त गर्ने सकिने छ।

    १२. प्रतियोगीले प्रतियोगिताका लागि छनौट गरेको गीतको बोल सम्बन्धी सम्पूर्ण जानकारी निबेदनका साथमा नै उपलब्ध गराउनु पर्नेछ।

    १३. प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शुल्क बापत ५० युरो (युरो पचास) बुझाउनु पर्नेछ।

    १४. सहभागिताको लागि आवेदन बुझाउने अन्तिम मिति ५ मार्च २०२३ सम्म हुनेछ।

    १५. प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रवेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन।

    १६. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगिलाई प्रतियोगितामा समावेश गरिने छैन ।

    १७. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १४ र १५ अप्रिल दुइ दिन सम्म खाने र बस्ने ब्यबस्था गरिनेछ। तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्नेछ।

    १८. गायनको मुल्यांकन गर्दा गीत अनुसारको सुर, ताल-नोटेशन, टाइमिङ्ग लगायतका गायन प्रतियोगीता मुल्यांकन सम्बन्धी प्रचलित नियमलाई आधार मानिने छ।

    १९. प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागी एक बर्ष कायर्काल रहने गरि इनासको अवैतिनक मानार्थ सदभावना दूत (INAS Europe Goodwill Ambassador) नियुक्त गरिनुका साथै ‘इनास युरोप नेपाली सिङ्गिङ्ग स्टार २०२३) (INAS Europe Singing Star 2023) को उपाधि सहित नगद ८०१ युरो (युरो आठ सय एक), ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली सिङ्गिङ्ग स्टार फस्ट रनर अप २०२३’ (INAS Europe Singing Star 1st Runner up 2023) र ‘इनास युरोप नेपाली सिङ्गिङ्ग स्टार सेकेन्ड रनर अप २०२३‘ (INAS Europe Dancing Star 2nd Runner up 2023) को बिशेष उपाधि सहित क्रमश ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै प्रमाण पत्र प्रदान गरिने छ। साथै विजयीहरुलाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तराष्ट्रियस्तरका कायर्क्रमहरुमा प्रस्तुतीका लागि अवसर प्रदान गरिनेछ र चलिचत्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।

    २०. प्रतियोगिताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend