logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

    मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

    2.1K
    Shares
    मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

    भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

    पानी खोलाबाट बस्तीसम्म पुर्‍याउनका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भएका छन् । त्यस्तै पानी वितरणका लागि ७५ र ५५ हजार लिटरका ट्याङ्की निर्माण गरिएको छ ।

    यहाँ २० हजार लिटर क्षमताका छ ओटा शाखा ट्याङ्की निर्माण गरिएको आयोजनाले जनाएको छ । विगतमा पानीको खास समस्या नभए पनि २०७२ सालको भूकम्पपछि यहाँका पानीको मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै भएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयवासीले गाउँबस्ती नै छाड्दै गएका थिए ।

    पानीका कारण बसाइँसराइ बढ्दा विगतमा आठ सय ७५ घर रहेकोमा अहिले चार सय ३५ घर मात्र बाँकी रहेको वडा नं ५ का वडाध्यक्ष जगत चौहानले बताए । पानी बस्तीमा आएपछि यहाँका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको वडाध्यक्ष चौहानको भनाइ छ ।

    “मानेभञ्याङ निकै उर्वरभूमि हो”, वडाध्यक्ष चौहानले भन्नुभयो, “तर पानीको कारण धेरै मानिसले बस्ती छोडे । अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको छ । स्थानीयवासीले पिउने पानी पाएका छन् ।”

    लामो प्रतिक्षापछि पिउने पानी पाउँदा सहज भएको स्थानीयवासी इन्दिरा पाण्डेले बताइन् । पिखुवा खोला मानेभञ्याङ आयोजना सञ्चालनमा आएपछि घण्टाँैं लाइनमा बसेर पानीको जोह गर्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

    “एक गाग्री पानीको जोह गर्न घण्टाँै लाइनमा बस्नुपर्ने अवस्था थियो”, विगतलाई स्मरण गर्दै पाण्डेले भनिन्, “अहिले घर÷घरमा पानीको धारा जडान भएको छ । बस्तीमा पानी आएपछि हाम्रो दैनिकी नै परिवर्तन भएको छ ।”

    पानी आएपछि गाउँको मुहार नै फेरिएको स्थानीय गोमा खत्रीले बताइन् । विगतमा पानीको खोजीमा एक जनाको दिन बित्ने भए पनि अहिले त्यस्तो अवस्थाको अन्त्य भएको उनको भनाइ छ । “बिहान २ बजे उठेर जाँदा बल्ल १० बजे घर आइपुन्थ्यिो”, उनले भनिन्, “पानीको समस्याले धेरैले गाउँ छाडे । ढिलै भए पनि खानेपानीको सपना पूरा भयो । खेर गएको पानीलाई सदुपयोग गरेर तरकारी उत्पादन गर्न सकिएको छ ।”

    लिफ्टिङ प्रविधिबाट पानी बस्तीमा लैजानु परेकाले बेला बेलामा समस्या हुने गरेको खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले बताए । विद्युत्का कारण पानी तान्ने पम्पमा जोडिएका उपकरणमा समस्या आउँदा पानी वितरणमा अवरोध हुने गरेको उनको भनाइ छ ।

    “प्रविधिमा आउने समस्याका कारण पानी वितरणमा समस्या हुने गरेको छ”, सचिव चौहानले भने, “हामीसँग दक्षजनशक्ति नहुँदा उपकरण विग्रदा बाहिरबाट मान्छे ल्याउदा बढी खर्च हुन्छ । विद्युत् महसुल बढी उठ्ने भएकाले स्थानीयवासीलाई मार परेको अवस्था छ । महसुलमा छुट भए हामीलाई सहज हुने थियो ।”

    आयोजनालाई सहज रुपमा सञ्चालन गर्न भूमिका खेल्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । केही स्थानीयवासीबाट नियमित रुपमा पानी आउन नसकेको गुनासो आएकाले आयोजनाको स्थलगत रुपमा अनुगमन गरेको खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख देवनाथ सिहंले जानकारी दिए ।

    अनुगमनका क्रममा उपभोक्ता समिति गम्भीर भएर लागि परेको नदेखिएको प्रमुख सिंहले बताए । “नियमित रुपमा पानी नआएको स्थानीयवासीको गुनासोपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, उनले भने, “पानी वितरणमा उपभोक्ता समितिले लापरबाही गरेको देखियो । यहाँ भएका समस्याको बारेमासमेत समितिले कार्यालयमा जानकारी नगराएको अवस्था पाइयो । स्थानीयवासीलाई नियमित रुपमा पानी पुर्‍याउन हामी भूमिका खेल्छौँ ।”

    निर्माणको काम सकिएकाले उपभोक्ता समिति निष्क्रिय झैँ बनेको उनको भनाइ छ । अनुगमनका क्रममा देखा परेका विभिन्न त्रुटि सच्याउन उपभोक्ता समितिको ध्यानाकर्षण गराएको उनले बताए । पानी वितरणलाई नियमित र थप व्यवस्थित गर्न कार्यालयले सहयोग गर्ने सिंहले जानकारी दिए ।

    “हामीले योजनाका लागि लाग्ने बजेट दिएका छौँ”, उनले भने, “नियमित पानी वितरणमा उपभोक्ता समितिले खास भूमिका खेलेको पाइएन् । उपभोक्ता समितिलाई थप सक्रिय बनाउन खानेपानी योजना व्यवस्थापन समिति गठन गर्न लगाएका छौँ ।”

    आयोजनामा आउने विभिन्न प्राविधिक समस्या समाधानका लागि दुई जनालाई तालिमको व्यवस्था गरिदिने कार्यालयले जनाएको छ । आवश्यक अन्य सहयोगसमेत गर्दै आएको भए पनि पछिल्लो समय उपभोक्त समितिले प्रभावकारी भूमिका खेल्न नसकेको कार्यालयले जनाएको छ ।

    विद्युत् महसुल बढी आउने गरेकाले स्थानीयवासीलाई बढी मार परेको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष बीरेन्द्र राईले बताए । गाउँपालिकाले आयोजनाका कर्मचारीको तलब लगायत विषयमा केही आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ । तर पनि सहज रुपमा योजना धान्न समस्या रहेको उनले बताए ।

    “लिफ्टिङ प्रविधि अलि बढी खर्चिलो देखियो”, उपाध्यक्ष राईले भने, “बढी महसुल उठ्दा स्थानीयवासीलाई मार परेको अवस्था छ । एक परिवारले महिनामा रु एक हजार पाँच सय बढी तिर्नुपर्न अवस्था छ । यसमा विद्युत् प्राधिकरण ध्यान दिन आवश्यक छ । यही अवस्था हो भने स्थानीयवासीले पानी खानसक्ने अवस्था छैन ।”

    स्थानीयवासीलाई मिटर जडान गरेर प्रतिलिटर दश पैसा लिने गरेको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिए । पानी वितरणका लागि तीन जना कर्मचारी रहेको उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend