logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • शुक्लाफाटा राष्ट्रिय निकुञ्जः गस्तीका लागि हात्ती अपुग

    शुक्लाफाटा राष्ट्रिय निकुञ्जः गस्तीका लागि हात्ती अपुग

    1.9K
    Shares
    शुक्लाफाटा राष्ट्रिय निकुञ्जः गस्तीका लागि हात्ती अपुग

    कञ्चनपुर । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहँदै आएको छ ।

    विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ वटा गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । भारतसितसमेत जोडिएको शुक्लाफाँटामा लामो समयदेखि सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले गस्ती गर्ने गरेको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले एउटा छावा (बच्चा)सहित सातवटामात्रै रहेको बताए । “अहिले छवटा हात्तीबाट निकुञ्ज गस्ती भइरहेको छ”, रेञ्जर केसीले भने, “हात्ती माग गर्दागर्दा मुस्किलले तीन महिनाअघि चितवनबाट यहाँ एउटा पोथी र अर्को बच्चा हात्ती ल्याइएको हो ।”

    यहाँ निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्तीलगायत वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति परिचालित छ । “हात्तीकैै अभावले केही पर्दा मात्रै पूर्वी सेक्टरमा हात्ती पठाउने गरेका छौँ”, केसीले भने, “निकुञ्जलाई १५ देखि २० वटा हात्ती आवश्यक छ ।”

    उनले हरेक दुई–तीन महिनामा राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज संरक्षण विभागमा हात्तीको मागसहित पत्राचार गर्दै आएको बताए । यहाँ निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीनवटा स्थानमा हात्तीसार छन् । एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुत, पछुवा र फणित गरेर तीन कर्मचारी खटिने गरेको केसीको भनाइ छ ।

    “सातवटा हात्तीमा अहिले २१ जना कर्मचारी खटिएका छन्”, उनले भने । हात्ती अभावले यहाँ आउने पर्यटकलाई हात्तीबाट अवलोकन भ्रमण गराउन सकिएको छैन ।

    “पर्याप्त हात्ती भए पर्यापर्यटनलाई पनि सहज हुन्थ्यो”, केसीले भने, “गस्तीकै लागि हात्ती पुर्याउन नसकिएको अवस्था छ ।” निकुञ्ज कार्यालयका अनुसार केही वर्षयता मात्रै बूढो भएर दुईवटा हात्तीको मृत्यु भइसकेको छ । “शुक्लाफाँटामै जन्मिएको हात्ती ‘नारायणप्रसाद’ हो”, उनले भने, “नारायणप्रसाद अहिले १५ वर्षको भइसक्यो ।” विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend