काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराएको छ ।
विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।
जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक ७५ रन जोड । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।
विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए ।
बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए । त्यस्तै विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुुखिया शुन्य रनमै आउट भए । विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो ।
जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक/एक विकेट हात पारे ।
एनपीएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।