
काठमाडौं । निर्जीवन बिमा व्यवसाय गर्दै आइरहेको नेको इन्स्योरेन्स लिमिटेडले आउँदो ३ वर्षमा १ अर्ब रुपैयाँ भन्दा बढी खुदनाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।
कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि सार्वजनिक गरेको आगामी तीन वर्षको प्रक्षेपित वित्तीय स्थितीले एक अर्ब बढी खुदनाफा गर्ने देखाएको हो ।
आर्थिक वर्ष २०८३/०८४ मा नेकोले १ अर्ब ११ करोड रुपैयाँ खुदनाफा गर्ने प्रक्षेपण गरेको छ । उक्त आर्थिक वर्षमा गरेको खुदनाफाबाट सेयरधनीलाई १५ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । जसअनुसार १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने कम्पनीको योजना छ । कम्पनीले प्रतिसेयर आम्दानी ३६.६९ रुपैयाँ पुग्ने अनुमान गरेको छ ।
यस्तै आर्थिक वर्ष ०८२/०८३ मा ९४ करोड २३ लाख खुदनाफा हुने अनुमान नेको इन्स्योरेन्सले गरेको छ । उक्त नाफाबाट कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण र ५ प्रतिशत नगद लाभांश दिने अनुमान गरिएको छ । यस्तै प्रतिसेयर आम्दानी ३४ रुपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।
चालू आर्थिक वर्षमा कम्पनीले ६९ करोड ११ लाख रुपैयाँ खुदनाफा गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्षको दोस्रो त्रैमाशमा कम्पनीले १५ करोड ६० लाख रुपैयाँ मात्र खुदनाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । चालू आर्थिक वर्षमा प्रतिसेयर आम्दानी २७.४९ रुपैयाँ हुने अनुमान गरेकोमा दोस्रो त्रैमाशमा १५.६१ रुपैयाँ मात्र रहेको छ । दोस्रो त्रैमाशको वित्तीय विवरण हेर्दा नेकोले प्रक्षेपित नाफा हासिल गर्न गाह्रो पर्ने देखिएको छ ।
यस्तै आर्थिक वर्ष ०८३/०८४ मा नेकोको खुुद बिमा शुल्क (प्रिमियम) संकलन बढेर २ अर्ब ४७ करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ । यो वर्ष बिमा शुल्क आम्दानी १५ प्रतिशत बढ्ने अनुमान कम्पनीको छ । यस्तै आगामी आर्थिक वर्षमा २ अर्ब २० करोड ४६ लाख र चालू आर्थिक वर्षमा १ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गर्ने लक्ष्य लिएको छ ।
आगामी आर्थिक वर्षमा बिमा शुल्क आर्जन १२ प्रतिशत बढ्ने अनुमान कम्पनीको छ । कम्पनीको नेटवर्थमा औसत प्रतिफल चालू आर्थिक वर्षमा १०.७८, आगामी आर्थिक वर्षमा १३ र तेस्रो वर्ष बढेर १३.६२ प्रतिशत पुग्ने प्रक्षेपण कम्पनीको छ । अहिले औसत प्रतिफल १३.३७ प्रतिशत छ ।
नेकोले यही फागुन ८ देखि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयर निष्काशन बन्द यही फाुगन २८ गते बन्द हुने भएको छ । हकप्रद सेयर निष्कासन पूर्व कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ पुग्ने भएको छ ।
बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद निष्कासनबाट कम्पनीले करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनु पर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले प्रक्षेपण गरेअनुसारको नाफा र बोनस सेयर वितरण भएमा आगामी आर्थिक वर्षमा नेकोको चुक्ता पुँजी बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यस्तै तेस्रो वर्ष ३ अर्ब ४ करोड रुपैयाँ पुग्नेछ । हकप्रदबाट संकलन हुने पुँजी कम्पनीले शाखा र सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तिय एवं आर्थिक गतिविधिलाई विस्तार गर्ने जनाएको छ ।
यसैगरी जगेडा कोषहरुको आकार पनि बढेर आउँदो तीन वर्षमा ५ अर्ब १५ करोड रुपैयाँ पुग्ने अनुमान नेकोको छ । आगामी आर्थिक वर्षमा ४ अर्ब ४५ करोड रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । चालू आर्थिक वर्षमा ३ अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।
सबैभन्दा ठूलो संस्थापक सेयरधनी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । त्यसपछि उपेन्द्र महतोको छ । यस्तै कृषि विकास बैंक, नागरिक लगानी कोष पनि कम्पनीको प्रवद्र्धक हो । कम्पनीमा उपेन्द्र महतोको १७.९० प्रतिशत हिस्सा छ ।
केही वर्षअघि यस कम्पनीको प्रर्वद्धकमा महतो समूहको प्रवेश पश्चात अझ गतिशिल रुपमा सेवा प्रदान गर्दै आएको छ । नेको इन्स्योरेन्स २०५१ साल पौस १ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend