
काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् ।
जसमा स्वास्थ्य बिमा बोर्डलाई ३ अर्ब, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड र मुटु रोगका बिरामीलाई निशुःल्क उपचारका लागि सो रकम निकासा गरेको अर्थले जनाएको छ । उक्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।
सरकारले रकम भुक्तानी नगर्दा अहिले बिमाको दायित्व बढ्दै गएको छ । बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई अहिले १५ अर्ब तिर्न बाँकी छ । बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले बजेटको अभावसँगै मूल्यांकन समेत समयमै गर्न नसक्दा स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिन नसकिएको बताएका छन् ।
बोर्डकाअनुसार २०७२ चैतमा शुरू भएको स्वास्थ्य बिमा अहिले ७७ जिल्लामै पुगिसकेको छ । देशभरका ८९ लाख जनता आवद्ध भएको स्वास्थ्य बीमामा ४८ निजीसहित ४ सय ८४ स्वास्थ्य संस्थाहरूले विमितलाई सेवा प्रदान गरिरहेको छ ।
यो पनि :
८९ लाख जनता आवद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend