शनिबार, चैत्र ९ २०८१

शनिबार, चैत्र ९ २०८१

डाबरको भारत निर्यात २९ प्रतिशत बढेर पुग्यो ११ अर्ब, कूल निकासीमा ७ प्रतिशत हिस्सा

डाबरको भारत निर्यात २९ प्रतिशत बढेर पुग्यो ११ अर्ब, कूल निकासीमा ७ प्रतिशत हिस्सा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालको भारतमा निर्यात २९ प्रतिशत बढेको छ । गत वर्ष डाबरले १० अर्ब ९८ करोड ५० लाख रुपैयाँ बराबरको विभिन्न उत्पादनहरु भारतमा निर्यात गरेको छ । २०२३ मा ८ अर्ब ४८ करोड ३० लाख र २०२२ मा ८ अर्ब २० करोड ५० लाख रुपैयाँ बराबरको उत्पादन भारतमा निर्यात गरेको थियो ।

मुलुकको कूल निर्यातमा डाबरको हिस्सा बढेर ७.२१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ५.४० प्रतिशत थियो । कम्पनीको ६४ प्रतिशत आम्दानी निर्यातबाट हुने गरेको छ ।

गत वर्ष डाबरको व्यापार १८.७२ प्रतिशत बढेर १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ थियो । एक वर्षमा डाबरको व्यापार २ अर्ब ५५ करोड रुपैयाँ बढेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

२०२२ मा डाबरको व्यापार १३ अर्ब रुपैयाँ थियो । व्यापार बढाउन विभिन्न ब्राण्डका साथै जुसको महत्वपूर्ण भुमिका रहेको छ । २०२१ मा डाबरको आम्दानी १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ थियो ।

आन्तरिक बिक्री वृद्धि ५.५ प्रतिशत रहेको छ । आम्दानी बढेपछि उद्योगको मार्जिन पनि बढेर १७ प्रतिशत पुगेको छ । यसअघि डाबरको मार्जिन १३.१४ प्रतिशत मात्र थियो ।

उद्योगले नेपालमा पेयपदार्थ सौन्दर्य तथा स्वास्थ्यवर्धक सामग्री उत्पादन गर्दै आएको छ । डाबरले डाबर रियल जुस, ग्लुकोज, च्यवनप्रास, हेयर आयल, टुथपेस्ट, हाजमोला महलगायत वस्तु उत्पादन तथा निकासी गर्दै आएको छ ।

उद्योगको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा डाबर, रियल र हाजमोला बलियो ब्राण्डको रुपमा स्थापित भइसकेका छन् । आर्युवेदिक सेग्मेन्टमा डाबरको दरिलो उपस्थिती रहेको छ । डाबरले रियल जुस, एक्टिभ र ब्रस्ट रहेको छ । यस्तै डाबर भाटिकाको पनि बजारमा राम्रो हिस्सा रहेको छ । डाबरको क्यान्डी र ट्याबलेट पनि उत्पादन रहेको छ ।

२०४६ को राजनीति परिवर्तनलगतै स्थापना भएको डाबरले नेपालमा सन् १९९२ देखि दैनिक उपभोग्य स्वास्थ्यवर्धक वस्तुको उत्पादन गरी नेपालमा बिक्री गर्नुका साथै छिमेकी भारतमासमेत निर्यात गर्दै आएको छ । यो भारतको अग्रणी बहुराष्ट्रिय कम्पनीहरू मध्ये एक डाबर इन्डिया लिमिटेडको एक स्टेप डाउन सहायक कम्पनी हो ।

डाबर देशको अग्रणी उत्पादक र निर्यातकर्ता मध्ये एक हो । फलफूलको रस र पेय पदार्थ, च्यवनप्रास, ग्लुकोज, टूथपेस्ट, कपालमा लगाउने तेल, पाचन ट्याब्लेट हजमोला र डबर हनी उत्पादन रहेका छन् । डाबरको मुलुकभरी ३ सय डिलर र १ लाख भन्दा बढी खुद्रा प्वाइन्टहरु रहेका छन् ।

९७.५ प्रतिशत हिस्सा डाबर इन्टरनेसनल लिमिटेडको र बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदार रुक्मशमशेर राणाको छ । राणाको निधन भइसकेको छ । यसअघि उनी कम्पनीका अध्यक्ष थिए ।

१० अर्ब लगानी थप

उद्योगले उत्पादन बढाउन तथा वस्तु विविधिकरण परियोजना पुर्वाधार खडा गर्न ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ । यसअघि डाबरले उत्पादन बढाउन तथा वस्तु विविधिकरण गर्ने सो रकम लगानी गर्ने योजना सार्वजनिक गरेको थियो ।

डाबरले विभिन्न बैंकबाट अल्पकालीन र दीर्घकालीन गरी ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको छ । लगानी थप्ने विषयमा लगानी बोर्ड र डाबरबीच २०८० वैशाखमा परियोजना समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । २०७८ माघ २५ मा बसेको लगानी बोर्डको ४९ औं बैठकले डाबरको क्षमता अभिवृद्धि र उत्पादन विविधिकरण गर्न लगानी स्वीकृति गरेको थियो ।

डाबरले जुसलगायत पेयपदार्थ उत्पादनका लागि थप लगानी गर्न लागेको जानकारी दिएको छ । गत वर्ष मात्र डाबर इन्डियाले १ खर्ब २४ अर्ब भारु व्यापार गरेको छ । डाबर इन्डियाको बजार पुँजीकरण बढेर ९ खर्ब ३१ अर्ब भारु पुगेको छ । सन १८८४ मा एसके बर्मनले डाबर इन्डियाको स्थापना गरेका हुन् ।

याे पनि :

डाबर नेपालले थप ९ अर्ब ६८ करोड लगानी गर्ने, पिआइए गर्न लगानी बोर्डले बनायो वार्ता समिति

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend