आइतवार , आश्विन १२, २०८२
Shares
Shares
काठमाडौं । नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको टी–२०आई शृंखलामा ऐतिहासिक जित निकालेको छ । शारजाहमा शनिबार राति सम्पन्न टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै क्रिकेट इतिहासमा पहिलोपटक आईसीसी पूर्ण सदस्य राष्ट्रविरुद्ध जित दर्ता गरेको हो। १४८ रनको लक्ष्य सफलतापूर्वक डिफेन्ड गर्दै नेपालले बलियो प्रदर्शन गरेको हो।

यसअघि नेपालले भारत, बंगलादेश, दक्षिण अफ्रिका, जिम्बाब्वे र आयरल्यान्डजस्ता टिमविरुद्ध आठ टी–२० अन्तर्राष्ट्रिय खेले पनि कुनैमा जित निकाल्न सकेको थिएन।

सन् २०१४ मा अफगानिस्तानलाई हराएको नतिजा त्यतिबेला त्यो टिम एसोसियट भएकाले गणनामा नपरेको थियो। शनिबारको जितलाई नेपाली खेल इतिहासमै पहिलो मानिएको छ।
प्रारम्भिक दबाबपछि सन्तुलित ब्याटिङ
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले सुरुवात कमजोर गरेको थियो। तर कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतकीय साझेदारी गर्दै सम्हाले।

निर्धारित २० ओभरमा नेपालले १४८ रन जोड्यो। मैदानको औसतभन्दा कम भए पनि टिमले त्यसलाई ‘डिफेन्डेबल स्कोर’ मानेको थियो।
कसिलो बलिङ र जोशिलो फिल्डिङ
जवाफी ब्याटिङमा वेस्ट इन्डिजलाई नेपालले सुरुदेखि नै दबाबमा राख्यो। कुशल भुर्तेलले काइल मेयर्सलाई प्रत्यक्ष हिटमार्फत रनआउट गरेपछि खेल नेपालको पक्षमा फर्किएको संकेत मिल्यो।

दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट फिल्डिङबाट किएसी कार्टी रनआउट भए भने सन्दीप जोराले बाउन्ड्री नजिकै महत्त्वपूर्ण क्याच लिए। सिङ्गल–डबल रोकेर नेपालले निरन्तर दबाब कायम गर्यो।
अनुभवी अलराउन्डर जेसन होल्डर सस्तैमा आउट भएपछि वेस्ट इन्डिज ७६र६ को अवस्थामा पुगेको थियो। अन्त्यतिर फाबियन एलेन र कप्तान अकिल होसेनले केही ठूला प्रहार गर्दै खेललाई रोमाञ्चक बनाएको थियो।
अन्तिम ओभरमै सुनिश्चित भयो जित
अन्तिम दुई ओभरमा वेस्ट इन्डिजलाई ३० रन आवश्यक थियो। करण केसीको ओभरमा कप्तान होसेन आउट भएपछि नेपालले खेलमाथिको नियन्त्रण फिर्ता ल्यायो।

अंतिम ओभरमा २८ रन चाहिएको अवस्थामा फाबियन एलेनले दुई चौका हान्न सके पनि लक्ष्य नजिक पुग्न सकेनन् र नेपाल १९ रनले विजयी भयो।
कप्तान रोहितको प्रभावकारी भूमिका
कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ३८ रन बनाए। उनले किफायती बलिङ गर्दै १ विकेट समेत लिएका थिए। बलरहरूको सही प्रयोग र फिल्ड सेटिङमा उनले देखाएको नेतृत्वको प्रशंसा गरिएको छ।

उनले खेलपछि भने, “स्कोर पर्याप्त हुने विश्वास हाम्रो योजना र मनोबलमा थियो। कसिलो बलिङ र फिल्डिङ गर्दा खेल जितिन्छ भन्ने आत्मविश्वास टिममा नै थियो।” उनले नेपाली समर्थकलाई निरन्तर साथ दिन आग्रह गरे।
समग्र प्रदर्शन प्रशंसनीय
कुशल मल्लको संयमित ब्याटिङ, कुशल भुर्तेलको बलिङ र ऐरी तथा सन्दीपको फिल्डिङले खेलको धार नेपालतर्फ झुकायो। टिमको सामूहिक प्रयास, अवसरको उपयोग र दबाबमै संयमित खेल शैली ऐतिहासिक जितका मुख्य आधार बने।

यस जितलाई नेपाली क्रिकेटको मनोवैज्ञानिक र कूटनीतिक उचाइको रूपमा हेरिएको छ। पूर्ण सदस्य विरुद्धको पहिलो औपचारिक जितले नेपाली क्रिकेट टिमलाई आगामी द्विपक्षीय सिरिज र विश्वकप तयारीमा बलियो आत्मविश्वास दिएको विश्लेषकहरूको टिप्पणी छ।

Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस