काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेबसाइट र मतदाता नामावली प्रणालीमा कुनै अनधिकृत पहुँच नभएको स्पष्ट पारेको छ। आयोगले सामाजिक सञ्जालमा फैलिएका दाबी र भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत भनिएका छन्, “निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन। हाम्रो मतदाता नामावली प्रणाली पूर्ण रूपमा सुरक्षित छ।”
भट्टराईका अनुसार, विगतमा निर्वाचन प्रयोजनका लागि वितरण गरिएका पीडीएफ फाइलहरू नागरिकका संवेदनशील विवरण नभई सामान्य जानकारी मात्र समावेश गर्थे। आयोगले सम्बद्ध सूचना प्रविधि विज्ञमार्फत प्रणालीको निरन्तर अनुगमन, सुरक्षा जोखिम विश्लेषण र सुरक्षा उपायहरूको कार्यान्वयन गर्दै आएको छ।
निर्वाचन आयोगले सबै सरोकारवालालाई अप्रमाणित, भ्रामक र मिथ्या सूचना वा सामग्रीमा विश्वास नगर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस