logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

    अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

    4.3K
    Shares

    खोटाङ । किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा ९बिनायो० वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो ।

    लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, सम्बर्द्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिताको आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार सङ्घका सचिव पदम थुलुङले बताए।

    ‘कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको शरु गरिएको छ’, उनले भने, ‘जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछन् ।’

    सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ । छनोट भएका भिडियो सङ्घको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ । पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ । दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ ।

    बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः रु १६ हजार, १० हजार र सात हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए । कार्यक्रममा किराँत राई सङ्गीत सम्मान अक्षयकोषका लागि रु दुई लाख २२ हजार २२२ रकम सङ्कलन भएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend