२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुन्दरहरैंचामा तरूल खेती : दुई वडाबाट मात्रै २ करोडको कारोबार हुने अनुमान

आइतवार , मंसिर २१, २०८२

विराटनगर । सुन्दरहरैंचा नगरपालिकामा पछिल्ला दुई वर्षयता तरूल खेतीप्रति किसानको आकर्षण बढेको छ । नगदे बालीको विकल्पका रूपमा फैलिँदै गएको तरूल खेतीले अहिले स्थानीय किसानको आयआर्जन बृद्धि भएको छ ।

नगरका वडा नं. ७ र ८ मा राजमार्गको उत्तरतर्फ किसान अहिले धमाधम तरूल खन्न व्यस्त छन् । विगतमा पारिवारिक उपभोगका लागि मात्र रोपिँदै आएको तरूल अहिले व्यावसायिक स्तरमा खेतभर फैलिएको छ ।

स्थानीय किसान खेमराज कट्टेलले तीन वर्षअघि थोरै जग्गाबाट सुरु गरेको तरूल खेतीले पहिलो वर्षमै लाखौंको आम्दानी दिँदा गाउँभर यसको विस्तार भएको बताउँछन् । उनका अनुसार यस सिजनमा वडा ७ र ८ मा मात्र करीब १ सय बिघामा व्यावसायिक तरूल खेती गरिएको छ, जसबाट करीब २ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

कट्टेलले अहिले ७ बिघा जमिनमा तरूल रोपेका छन् । “यो वर्ष ५० टन उत्पादन गर्ने लक्ष्य छ, कम्तीमा २० लाख रुपैयाँ नाफा हुनेछ,” उनले भने । युट्युबमार्फत सिकेर थालेको तरूल खेती अहिले आफ्नो मुख्य आम्दानी स्रोत भएको उनले बताए ।

तरूल मुख्यत काठमाडौँ बजारमा बढी खपत हुने बताउँदै कृषक देवीरमण खरेल भन्छन्, “हात्तीछाप गुलाबी रङको तरूल सजिलै खन्न सकिने जात हो, खेती गर्दा सहज हुन्छ ।” उनका अनुसार केरा बालीमा रोग बढेपछि विकल्पका रूपमा कन्दमूल तरूल खेती रोजिएको हो ।

दोमट माटो, सुख्खा भू–परिवेश र अनुकूल हावापानीका कारण तरुल खेती निकै उपयुक्त मानिन्छ । अन्य बालीमा हात्ती पस्ने र उत्पादित अन्नबाली खाईदिने समस्याको कारण पनि किसानलाई तरूल खेतीतर्फ आकर्षित गर्ने मुख्य कारण बनेको किसानहरुले बताएका छन् । “झाडी झ्याङ भएका कारण हात्ती भित्र पस्न सक्दैन, यसैले तरूल खेती सुरक्षित छ,” भने । उनले कीरा ‘बदेलले भने अलि समस्या दिने गरेको उल्लेख गरे ।

अहिले खेतबाटै प्रतिकेजी ४५ रुपैयाँको दरमा तरूल बिक्री हुँदै आएको छ । व्यापारी गाउँ–गाउँ पुगेर जुटका बोरा वितरण गर्ने र किसानले खनेका तरूल सोही बोरामा राखेर बेच्ने व्यवस्था मिलेको कट्टेलले बताए । “बिक्री नभइला कि भन्ने चिन्ता हुँदैन, खनेकै बखत बजार तयार हुन्छ,” उनी हाँस्दै भन्छन् ।

मंसिर १५ देखि पुस २७ सम्म तरूल खन्ने मुख्य समय हो । विशेषत माघे संक्रान्तिमा यसको माग अत्यधिक हुने भएकाले किसानहरू पुस २७ भित्र सबै उत्पादन बजार पठाउने तयारीमा छन् ।

एक बोटबाट १० किलोसम्म तरूल उत्पादन हुने कट्टेल बताउँछन् । अहिले उनले मात्रै २२ जनाको जनशक्ति लगाएर दैनिक खन्ने काम गर्दै आएका छन् ।

पहिलोपटक २ कट्ठा जग्गामा तरूल खेती थालेका अर्का किसान हरि थापा भन्छन्, “थोरै जग्गा भए पनि राम्रो आम्दानी आउने बाली भएकाले तरूल रोजेको हुँ ।”

किसानको यो उत्साहसँगै सुन्दरहरैंचामा तरूल खेती ‘नगदे बाली’ को नयाँ पहिचान बन्दै गएको किसानहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ