२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विराटनगरमा ‘विराट ट्रेड एक्स्पो २०२५’ बुधबारदेखि सुरु हुँदै

मंगलवार , पौष ८, २०८२

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा कोशी प्रदेशकै बृहद अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘विराट ट्रेड एक्स्पो २०२५’ बुधबार अर्थात् २०८२ पौष ९ गतेदेखि सुरु हुने भएको छ। विराटनगर–१ स्थित शान्ति चौकमा आयोजना हुने एक्स्पो ११ दिनसम्म सञ्चालन भई पौष १९ गते समापन हुनेछ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत एक्स्पोको सम्पूर्ण तयारी सम्पन्न भइसकेको जानकारी दिएको छ। बुधबार दिउँसो २ बजे संघीय सरकारका माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

एक्स्पोले कोशी प्रदेशसहित देशभरका कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत क्षेत्रका उत्पादन तथा सेवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्य लिएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । उनका अनुसार स्टार्टअप, महिला तथा युवा उद्यमीहरूलाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग व्यावसायिक सम्बन्ध विस्तार गर्ने साझा थलोका रूपमा एक्स्पो उपयोगी हुने अपेक्षा गरिएको छ।

कोशी पर्यटन वर्ष २०८२ को प्रवर्द्धनलाई समेत केन्द्रमा राखेर आयोजना गरिएको यस एक्स्पोमा तीनवटा हेङ्गर निर्माण गरिएका छन् भने २०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी उत्पादनहरूको प्रदर्शनी गरिनेछ। भारत, बंगलादेश र पाकिस्तान लगायत मुलुकका उत्पादनहरू समेत एक्स्पोमा रहने एक्स्पो संयोजक अमित कुमार शारडाले जानकारी दिए ।

११ दिने एक्स्पो अवधिभर आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, कृत्रिम बुद्धिमत्ता (AI), सूचना प्रविधि लगायत विषयमा थिमेटिक सेसन तथा सेमिनारहरू सञ्चालन गरिने समेत उनले बताए । यसका लागि स्वीस कन्ट्र्याक्ट र आइडिया स्टुडियो जस्ता संस्थाहरूको सहकार्य रहेको उनको भनाइ छ ।

रमपम तयारी चाउचाउ र मारुती सिमेन्ट मुख्य प्रायोजक रहेको यस एक्स्पोलाई कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले प्रवर्द्धन गरेका छन्। खुकुरी रम, सेन्चुरी मसला र ग्रिन टायर्स गोल्ड स्पोन्सरका रूपमा रहेका छन् भने विभिन्न बैंक, बीमा, स्वास्थ्य, शिक्षा र ऊर्जा कम्पनीहरू पार्टनरका रूपमा आबद्ध छन्।

दर्शक मनोरञ्जनलाई लक्षित गर्दै एक्स्पो अवधिभर कुमासागर, रकहेड्स, कुटुम्ब, स्वप्न सुमन, उज्ज्वल शाक्य लगायत चर्चित कलाकार तथा ब्याण्डहरूको दैनिक सांस्कृतिक प्रस्तुति रहनेछ। साथै जलपरी प्रदर्शनी, ३० फिटे ओपेरा हाउस आकृतिको सेल्फी जोन, बाल उद्यान र ‘विराट भ्वाइस’ गायन प्रतियोगिता समेत विशेष आकर्षणका रूपमा समावेश गरिएको छ।

अघिल्ला संस्करणभन्दा ठूलो क्षेत्रमा आयोजना गरिएको यस एक्स्पोमा करिब २ लाख दर्शकको आगमन हुने अनुमान गरिएको छ भने पार्किङ व्यवस्थापन पनि पर्याप्त गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट