काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत नेपालमा उद्यम नवप्रवर्तन, प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित Aadyanta Advisory Pvt. Ltd. र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
सातौँ वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बर अभियान सुरुआतमा डिजिटल सचेतनामा केन्द्रित रहेपनि हाल उद्यम रूपान्तरणको रणनीतिक प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ। डिजिटल डिसेम्बर २०२५ संस्करणले उच्च मूल्य तथा ठूलो परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यममा रूपान्तरण गर्ने, उद्यमीका सञ्चालन प्रणालीसँग बैंकिङ सेवा एकीकृत गर्ने तथा डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको प्रमुख माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
समझदारी अन्तर्गत लक्ष्मी सनराइज बैंकले प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार, विषयगत विशेषज्ञता र पूँजी पहुँचका लागि तयार पार्ने उद्देश्य राखेको छ। बैंकको उद्यम डिजिटलाइजेशन पहलमार्फत नवप्रवर्तनको दायरा विस्तार गर्दै उदाउँदा उद्यमहरूलाई बजार तयारी र दीर्घकालीन विस्तारतर्फ उन्मुख गराइनेछ।
यस सहकार्यअन्तर्गत डिजिटल डिसेम्बर २०२५ का प्रमुख आधार—एपीआई सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारी—सँग मेल खाने कार्यक्रमहरू सञ्चालन गरिनेछन्। नवप्रवर्तकहरूलाई डिजिटल समाधानका प्रोटोटाइप विकासका लागि खुला प्रणाली तथा अभ्यास वातावरणमा पहुँच, सम्भावना बोकेका उद्यमसँग प्रारम्भिक चरणमै सहकार्य, डिजिटल वित्त तथा वित्तीय प्रविधिमा आधारित वृद्धि रणनीतिबारे विशेषज्ञ सत्रहरू प्रदान गरिनेछ।
यस पहलले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने ‘Seeding and Scaling Innovations’, ‘Code for Impact Hackathons’ तथा ‘U.S.–Nepal Commercial Diplomacy Discussion Series’ कार्यक्रमलाई समेत सघाउनेछ। यी कार्यक्रममार्फत सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक तथा उद्यमीहरू सहभागी हुनेछन्। कार्यक्रमहरू कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलवायु सहनशीलता र वित्तीय प्रविधि जस्ता क्षेत्रमा उद्यमशीलता विकास तथा कृत्रिम बुद्धिमत्तामा आधारित समाधान प्रवर्द्धनमा केन्द्रित रहनेछन्।
डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तन अर्थतन्त्रसँग जोड्दै लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई सञ्चालन सुधारको साधन मात्र नभई नवप्रवर्तन अर्थतन्त्रको आधारका रूपमा अघि सारेको छ। यस समझदारीले एकल उत्पादनमा आधारित बैंकिङबाट प्लेटफर्म आधारित बैंकिङ प्रणालीतर्फको रूपान्तरणलाई समेत प्रतिनिधित्व गरेको छ।
कार्यक्रमको डिजाइन, मार्गदर्शन तथा समन्वय Aadyanta Advisory ले गर्नेछ भने AmCham Nepal र Aadhyanta Fund Management ले निजी क्षेत्रका सञ्जाल परिचालन गर्दै भिजिबिलिटी, ज्ञान आदान–प्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछन्।
एक महिनाभर सञ्चालन हुने डिजिटल डिसेम्बर २०२५ अभियान समापनतर्फ उन्मुख भइरहँदा यस समझदारीले कारोबारको डिजिटलाइजेशनभन्दा अगाडि बढ्दै नेपालको डिजिटल विकासको आगामी चरणलाई नेतृत्व गर्ने उद्यम, नवप्रवर्तक र प्रणालीहरूलाई सशक्त बनाउने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धता उजागर गरेको छ।
प्रतिक्रिया दिनुहोस