२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विराट ट्रेड एक्स्पो : साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्मको बहस

शुक्रवार , पौष ११, २०८२

विराटनगर । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ।

सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो। साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले प्रविधिको फाइदासँगै बढ्दो जोखिमबारे सचेत गराए।

“एआई र सूचना प्रविधिले जीवन सहज बनाएको छ, तर यसको दुरुपयोगले ठूलो क्षति पनि भइरहेको छ,” उनले भने, “आज बन्दुक वा चक्कु बोक्नुपर्दैन, मोबाइल र ल्यापटप भए पुग्छ ठगी गर्न।” उनले अनलाइन स्क्यामका वास्तविक घटनाहरू सुनाउँदै हरेक वर्ष झण्डै २ अर्ब रुपैयाँ ठगी भइरहेको तथ्यांक सार्वजनिक गरे।

“बैंकले कहिल्यै ओटीपी माग्दैन, तर हामी विश्वास गरेर दिइरहेका छौं,” एसपी कटुवालले भने, “राम्रो परिवारका, शिक्षित मानिसहरू समेत ठगीमा परिरहेका छन्।” सोसल मिडियाबाट सुरु हुने फ्रेन्ड रिक्वेस्ट, भावनात्मक कुराकानी, निजी तस्बिरको दुरुपयोग र आर्थिक शोषणसम्मका घटनाबारे उल्लेख गर्दै उनले चेतावनी दिए। “कसैलाई छिट्टै विश्वास नगर्नुहोस्, पासवर्ड कसैलाई नदिनुहोस्, रिसको झोकमा सामाजिक सञ्जालमा गाली नगर्नुहोस् साइबर कानुनले कारबाही गर्छ,” उनले भने।

घटना भए तुरुन्त प्रहरी र अभिभावकलाई जानकारी गराउन आग्रह गर्दै प्रविधिको मिसयुजले कानुनी सजाय मात्रै होइन, जीवनमै दुर्घटना निम्त्याउन सक्ने र यस्तो अवस्थामा नेपाल प्रहरी सदैव सहयोगका लागि तयार रहेको बताए ।

सिल्भर गेट सफ्टवेयर प्रा।लि। का सिईओ करुण थापाले एआई फर आन्टरपेनसीप विषयमा प्रस्तुति दिँदै व्यवसायमा एआईको प्रयोगबारे जानकारी गराए। “एआईलाई बुझ्ने गरी प्रश्न गरियो भने यसले उत्कृष्ट उत्तर दिन्छ,” उनले भने, “२०२२ मा च्याटजिपीटी आएपछि यसको प्रयोग तीव्र रूपमा बढेको छ।”

उनका अनुसार एआईले भर्चुअल असिस्टेन्ट, म्युजिक र भिडियो निर्माण, लोगो डिजाइन, बिजनेस प्लान र बजेटिङ जस्ता काममा ठूलो सहयोग गरिरहेको छ। “गुगलजस्ता प्लेटफर्मसँग विशाल डेटा भएकाले जेमिनाईजस्ता टुल अझ शक्तिशाली बनेका छन्,” थापाले बताए।

पूर्वाञ्चल विश्वविद्यालयका ईश्वर भण्डारीले डिजिटल मार्केटिङ र ई–कमर्स विषयमा प्रस्तुति दिँदै सामाजिक सञ्जाल नै आजको प्लेटफर्म र पसल बनेको बताए। “पहिले फेसबुकबाट सामान बिक्छ भन्ने कल्पना पनि थिएन, आज स्थिति पूरै बदलिएको छ,” उनले भने, “कम्युनिटी अनलाइन बनाउन सकियो भने ठूलो अवसर सिर्जना हुन्छ।”

उनले डिजिटल व्यापार कुनै उमेर वा वर्गमा सीमित नरहेको उल्लेख गर्दै सबैले यसको फाइदा लिन सक्ने बताए।

कार्यक्रममा विद्यार्थीहरूले एआईको अनुसन्धानमा प्रयोग, टेलिग्राममा आउने अफरहरू लगायत विषयमा जिज्ञासा राखेका थिए। जवाफमा एसपी कटुवालले रातारात धनी हुने लोभमा नपर्न र प्रतिबन्धित वा अविश्वसनीय प्लेटफर्मप्रति सचेत रहन आग्रह गरे। कार्यक्रमले प्रविधिको सही प्रयोग, सावधानी र अवसरबारे सहभागीलाई महत्वपूर्ण सन्देश दिएको कार्यक्रम संयोजक अनिल शारडाले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट