२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

शनिवार , पौष १२, २०८२

विराटनगर । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ ।

‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना धारणा राखेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पवन शारडा, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सिएनआई कोशी प्रदेश अध्यक्ष पवन शारडा तथा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण बिजनेस एजका सम्पादक मदन लम्सालले गरेका थिए ।

छलफल जेनजी आन्दोलनले दिएको सन्देश, त्यसले उद्योग-व्यवसायमा पारेको प्रभाव र अब देशले लिनुपर्ने आर्थिक तथा नीतिगत बाटोमा केन्द्रित थियो । सहभागीहरूले आन्दोलनले उठाएका मुद्दा जायज भए पनि त्यसको स्वरूप र असरले निजी क्षेत्र थप असुरक्षित बनेकोमा चिन्ता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले जेनजी आन्दोलनले देशलाई ठूलो सन्देश दिन खोजेको बताउँदै पुराना पुस्ता, राजनीति र कर्मचारीतन्त्र नसच्चिएसम्म आन्दोलनको मर्म पूरा नहुने धारणा राखे ।

उनले निजी क्षेत्रले धेरै अघिदेखि उठाउँदै आएका माग राज्य र राजनीतिक दलहरूले नसुनेकै कारण असन्तुष्टि विस्फोट भएको बताए । “देशमा भ्रष्टाचार अति भएपछि युवाहरू सडकमा उत्रिएका हुन्,” उनले भने, “अब नीति, नियम र कार्यशैली सबै सहज र माटो सुहाउँदो हुनुपर्छ ।”

रिजालले आगजनी, तोडफोड र उद्योगी–व्यवसायीमाथि आक्रमणले निजी क्षेत्रमा ‘चिसो’ पसेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लगानी र रोजगारी दुवैलाई असर गर्ने चेतावनी दिए । नेपाल ठूलो बजार भएको भन्दै उनले डिजिटल बजार, हाइड्रोपावर, कृषि, पर्यटन र निर्यात प्रवर्द्धनमा ठूलो सम्भावना रहेको बताए । “निर्यात बिना व्यापार घाटा घटाउन असम्भव छ,” उनले जोड दिए ।

मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले जेनजी आन्दोलन व्यापक असन्तुष्टिको परिणाम भएको र मागहरू जायज भएको बताए । तर राजनीतिक दल र कर्मचारीतन्त्रमा अझै मानसिक परिवर्तन नआएको उनको भनाइ थियो । “भ्रष्टाचाररहित देश नबनाइन्जेल जेनजी आन्दोलनको सार्थकता हुँदैन,” उनले भने । भारत र चीनको उदाहरण दिँदै उनले छिमेकी मुलुकहरूले प्रगति गरिसक्दा नेपाल किन पछि पर्‍यो भन्ने प्रश्न उठाए ।

शारडाले उच्च करका कारण नेपाली उद्योग व्यवसाय भारतसँग प्रतिस्पर्धी बन्न नसकेको उल्लेख गर्दै सरल कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो राजनीतिकरण र कमजोर सरकारी सेवाका कारण नागरिक निजी क्षेत्रतर्फ बाध्य भएको उनको भनाइ थियो । युवा पलायन रोक्न सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव पनि उनले दिए ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जेनजी आन्दोलनले अर्थतन्त्र र व्यवसायमा ठूलो क्षति पुर्‍याएको बताए । “दुई दिनमै करिब एक खर्ब रुपैयाँ बराबरको क्षति भयो,” उनले भने । आन्दोलनको नेतृत्व स्पष्ट नहुँदा व्यवसायी झन् त्रसित बनेको उनको भनाइ थियो । कर तिर्ने व्यवसायीले सुरक्षा प्रत्याभूति नपाएको गुनासो गर्दै उनले लगानीको वातावरण बिग्रिएको बताए ।

आफ्नो होटलमा आगलागी हुँदा पर्याप्त सहुलियत नपाएको उदाहरण दिँदै दुलालले करदाता सम्मानित हुने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । उपभोक्ता घट्दै जानु र युवा पलायन देशकै ठूलो समस्या बनेको उल्लेख गर्दै उनले पर्यटन, कृषि र जलविद्युतमा लगानी बढाएर देशभित्रै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जेनजी आन्दोलन नेतृत्वविहीन र संगठनविहीन भएकाले अपेक्षित परिणाम दिन नसकेको बताए । आन्दोलनको नाममा निजी क्षेत्रमा भएको आक्रमण निन्दनीय भएको उनको भनाइ थियो । संघीय शासन प्रणालीपछि विकास नभएको भन्ने भाष्य गलत भएको दाबी गर्दै उनले विकासले गति लिएको तर दृष्टिकोणको अभाव देखिएको बताए ।

निरौलाले कर प्रणाली सुधार, संघ–प्रदेश–स्थानीय तहबीच कानुनी एकरूपता र राष्ट्रिय पूँजी संरक्षणको आवश्यकता औंल्याए । पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै एकीकृत मास्टर प्लान बनाएर नतिजामुखी विकासमा अघि बढ्नुपर्ने सुझाव दिए ।

“सुशासनसहितको विकास प्रणालीमा प्रवेश गर्नु नै जेनजी आन्दोलनको मूल माग हो,” उनले भने, “तीन तहका सरकारबीचको खाडल पुर्नु र सार्वजनिक–निजी साझेदारीमा काम गर्नु आजको आवश्यकता हो ।”

कार्यक्रम संयोजक अनिल शारडाका अनुसार यस्ता छलफलले नीति निर्माता, निजी क्षेत्र र युवाबीच संवाद बढाउने विश्वास लिइएको छ । विराट ट्रेड एक्स्पोले व्यापार प्रवर्द्धनसँगै नीतिगत बहसलाई समेत प्राथमिकता दिएको सहभागीहरूको निष्कर्ष थियो ।

शत्रको शुरुवातमा आईक्यान मोरङका अध्यक्ष सिए सुरज तिम्सिनाले वर्तमान कर प्रणाली र खाता संचालन सम्बन्धी विषयमा प्रस्तुति दिएका थिए ।

यसैगरी दोस्रो शत्रमा नयाँ भन्सार कानुन तथा नियामक प्रावधान विषयमा भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी विमल कुमार शाहको प्रस्तुति थियो । प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख केशव सेढाइँले कर प्रणालीका विषयमा आफ्ना धारणा राखेका थिए ।

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

विराट ट्रेड एक्पोस्मा अर्थ र वाणिज्यसंग सम्बन्धित विविध विषयमा प्रत्येक दिन थिमेटिक सेसन संचालन भइरहेको छ ।

आज (शनिबार) नयाँ कर संरचना र समसामयिक वातावरणमा व्यापार मूल विषयमा तीनवटा सेसन संचालन हुँदैछन् । पहिलो सेसनमा सिए सुरज तिम्सिनाको प्रस्तुत रहने छ ।

यसैगरी दोस्रोमा नयाँ भन्सार कानुन तथा नियामक प्रावधान विषयमा भन्सार कार्यालय विराटनगरका बिमल कुमार शाहको प्रस्तुति रहने छ । तेस्रो सेसन जेन–जी आन्दोलनपछिको व्यवसाय शीर्षकमा केन्द्रीत रहने मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

यसको सहजीकरण न्यू बिजनेस एजका प्रधान सम्पादक मदन लम्सालले गर्नेछन् । प्यानलिस्टमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजू, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सिएनआई कोशी प्रदेश अध्यक्ष पवन शारडा र कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला रहेका छन् ।

कार्यक्रम संयोजक अनिल शारडाका अनुसार छलफल बिहान ११ बजे एक्स्पो स्थलमा शुरु हुनेछ । एक्स्पोका अवसरमा हरेक दिन महत्वपूर्ण सेसनहरु संचालन भईरहेको र यसमा युवा, विद्यार्थी तथा सरोकारवालाको अर्थपूर्ण सहभागिता भई रहेको शारडाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट