२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

निवर्तमान सभामुख देवराज घिमिरेको फरक चुनावी अभियानः अनुशासन र एजेन्डामा जोड

शनिवार , माघ १७, २०८२

झापा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा–२ का एमाले उम्मेदवार निवर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियान फरक तरिकाले अगाडि बढाएका छन् ।

घिमिरेले आफ्नो शक्तिकोरुपमा रहेको संगठन परिचालनमात्रै गराएका छैनन्, दलहरूको परम्परागत शैलीभन्दा फरक बनाएका छन् । उनले पार्टीका नेता कार्यकर्ताहरूलाई कसैलाई गाली नगर्न, अनुशासित बन्न र सामाजिक सञ्जालमा समेत स्तरीय भाषा प्रयोग गर्न आग्रह गरेका छन् ।

घिमिरेले आफ्नो सचिवालय र पार्टी कमिटीलाई निर्वाचन आयोगको आचारसंहितालाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । ‘कुनै पनि प्रतिस्पर्धी उम्मेदवार वा दलविरुद्ध गालीगलौज नगर्न, सार्वजनिक कार्यक्रममा अनुशासित रहन र सामाजिक सञ्जालमा समेत मर्यादित तथा स्तरीय भाषा प्रयोग गर्न आग्रह गर्दछु,’ उनले भनेका छन् ।

समाजमा नकारात्मकता फैलिएकोमा चिन्ता व्यक्त गर्दै घिमिरेले जुनसुकै हालतमा चुनाव जित्नुपर्ने उद्देश्यले नकारात्मक प्रचारभन्दा योजना, व्यवहार र विचार प्रस्तुत गर्न आग्रह गरेका छन् । ‘एमाले नयाँ पार्टी होइन, म आफैं पनि नयाँ उम्मेदवार होइन,’ उनले कार्यकर्तालाई स्पष्ट निर्देशन दिएका छन्, ‘हाम्रा कामको प्रचार गरेमात्रै पुग्छ ।’ उनले आफू जे गरेर भए पनि जे बोलेर भए पनि चुनाव जित्नुपर्छ भन्ने खेलमा नरहेको बताए । घिमिरेले आक्रामक नाराभन्दा व्यवहार र अनुशासनलाई प्राथमिकता दिएका छन् ।

तीन वर्षमा सयौं योजना

घिमिरेले आफूले सभामुखको जिम्मेवारीमा रहँदा संसदलाई मर्यादित, पारदर्शी र संस्थागत बनाउने प्रयास गरेको र झापा–२ को जनप्रतिनिधिकोरुपमा विकास निर्माणमा सयौं योजना ल्याएको उल्लेख गरेका छन् । करिव ३ वर्षे अवधीमा आफ्नो प्रयासमा निर्वाचन क्षेत्रमा कुल ३२३ वटा योजनाहरु संघीय सरकार मार्फत ल्याएको बताए । बजेटका आधारमा ३ वर्षमा ५ अर्व ४९ करोड ९३ लाख रुपैयाँ परेको छ ।

उनले सिंहदरवारमा रहँदा आफूले प्रभावकारी संसद सञ्चालनसँगै हरेक दिन कुनै न कुनै योजनालाई अगाडी बढाउन निरन्तर पहल पहल गरेको बताए । ‘चुनावका लागि तीन वर्षमा गरेका काम नै प्रचारका लागि काफी छन्,’ उनी भन्छन्, ‘फेरि पनि भन्छु– सकेको इमान्दार प्रयास गर्छु, कम्तिमा जनताको मतको दुरुपयोग गर्दिनँ ।’

सपना होइन, संकल्प

घिमिरेले आफूले कुनै असम्भव सपना होइन, पूरा गर्न सकिने संकल्पहरू राखेको बताएका छन् । ‘म राजनीति भाषणका लागि होइन, कामका लागि गर्नेछु भन्ने प्रतिबद्धता राखिरहेको छु, टोल र बस्तीको विकास र जनताको आवश्यकता नै मेरो प्राथमिकता हुनेछ,’ उनी भन्छन्, म विकासमा विभेद हुन दिनेछैन । कुनै वडा, कुनै समुदाय, कुनै वर्ग पछि पर्न दिने छैन ।’

नवयुवालाई आश्वासन होइन, अवसर दिने प्रयास गर्ने घिमिरेको भनाइ छ । सीप, रोजगारी र उद्यमशीलताका माध्यमबाट युवालाई आफ्नै माटोमा भविष्य देखाउन सक्नुपर्ने बताउँदै उनले त्यसका लागि संसदले आवश्यक कानून निर्माण र संशोधन बनाउनुपर्नेमा जोड दिए । ‘मैले सभामुख हुँदा पनि सार्वजनिक कार्यक्रममा नै भनेको छु, एउटा सांसदको मूल काम कानून निर्माण हो, सँगसँगै विकासको सहजकर्ता पनि हो,’ उनी भन्छन्, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित, युवा र उद्यमकेन्द्रित कानून बनाउन ध्यान दिनेछु ।’

घिमिरेले अघिल्लो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन कानून निर्माण भएको बताउँदै शिक्षा, निजामती, प्रहरी जस्ता कानूनलाई आगामी कार्यकालमा टुंगोमा पुर्‍याइने बताए । उनले चुनाव जितेपछि हराउने नेता नबने, सत्ता पाएपछि दूरी बढाउने प्रतिनिधि नबने र सुख–दुःखमा सँगै रहने सेवक बन्ने बताएका छन् ।

कार्की बने निर्वाचन कमाण्डर

एमालेले निवर्तमान सभामुख घिमिरेलाई जिताउन प्रदेश सभा सदस्य एकराज कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । निर्वाचन परिचालन समितिको सहसंयोजकमा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र सचिवमा क्षेत्रीय संयोजक बद्रि भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन परिचालन समितिमा क्षेत्र नं. २ भित्र बसोबास गर्ने प्रदेश कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू, क्षेत्र नं. २ भित्र रहेका प्रदेश विभाग तथा सल्लाहकारहरू, झापा जिल्ला लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरू, झापा २ नं. क्षेत्रीय र प्रदेश क्षेत्रीय कमिटीका पदाधिकारी सदस्यहरू, झापा जिल्ला सल्लाहकार र विभाग सबै, बिर्तामोड र अर्जुनधारा नगर पार्टी कमिटी एवम् कन्काई तथा बुद्धशान्तिको सो क्षेत्र अन्तर्गत पर्ने वडाबाट प्रतिनिधित्व गर्ने पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू, झापा क्षेत्र नं २ अन्तर्गत पर्ने २५ वटै वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू, जनवर्गीय संगठन (केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा)का सबै पदाधिकारी तथा सदस्यहरू, नेकपा एमालेबाट यस भूगोलमा निर्वाचित सबै जनप्रतिनिधिहरू र निर्वाचन क्षेत्रका पार्टी सदस्य रहेका छन् ।

निर्वाचन रणनीति निर्माणका लागि क्षेत्र स्तरीय स्टेयरिङ कमिटीसमेत गठन गरिएको छ । उक्त कमिटीमा सचिवालयमा संयोजक एकराज कार्की, सल्लाहकार संयोजक हरिचरण सिवाकोटी, आर्थिक संयोजक चिन्तन पाठक तथा केन्द्रीय सदस्य एलिसा गौतम रहेका छन् । त्यसैगरी जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी, जिल्ला उपसचिव अनिता कन्दङ्वा, क्षेत्रीय संयोजक बद्रि भट्टराई र प्रदेश सभा सदस्य कमला थापा मगर सचिवालयका सदस्य छन् ।

निर्वाचनलाई व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न विषयगत समितिहरू पनि गठन गरिएको छ । सो अन्तर्गत सल्लाहकार समिति, अनुगमन तथा निरीक्षण समिति, आर्थिक परिचालन समिति, प्रतिवद्धता पत्र तयारी समिति, सञ्चार संयन्त्र गठन तथा परिचालन समिति र प्रचार सामग्री सम्पादन समिति गठन गरिएको छ । अन्य राजनीतिक दलहरूसँग संवाद, सहकार्य र समन्वयका लागि ‘विपक्षी पार्टीसँगको समन्वय तथा साझेदारी सहजीकरण समिति पनि बनाइएको छ ।

झापा–२ मा एमालेबाट निवर्तमान सभामुख घिमिरे, रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, पूर्वमन्त्रीहरू सरिता प्रसाई, धर्मशिला चापागाईं, भद्रप्रसाद नेपालसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

झापा–२ अन्तर्गत अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं. १ देखि ९, कनकाई नगरपालिकाका ८ र ९ तथा बुद्धशान्ति गाउँपालिकाका १, २ र ३ पर्दछन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार यहाँ एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट