काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्रको पुनस्थापन गर्नका लागि अहिलेको निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन् ।
बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले देशमा शान्ति र स्थायित्व कायम गर्दै लोकतन्त्रको पुनस्थापन गर्नका लागि अहिलेको निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका हुन् ।
देशको शान्ति व्यवस्थाका साथै देश बचाउने कुरा निकै महत्वपूर्ण रहेको भन्दै अध्यक्ष ओलीले यसका लागि अनुभवी देशभक्त, लोकतान्त्रिक र प्रगतिवादी शक्तिहरूलाई अत्यधिक मत दिएर विजयी गराउनुपर्ने धारणा राखे ।
उनले अहिले मतदातालाई भ्रमित पार्दै देशका लागि कुनै योगदान नगरेका तत्वहरुले देशलाई अन्यौलको भूमरीको बीचबाट लाभ लिएर अघि बढ्न खोजेको देखिएको बताए ।
निर्वाचनमा एमालेले बहुमत ल्याउने र बहुमत ल्याउन नसकेपनि प्रमुख पार्टीको रुपमा स्थापित हुने दावी गरे । अध्यक्ष ओलीले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस